१२ बैशाख २०८१, बुधबार
Follow Us

स्ववियु निर्वाचन सम्बन्धमा क्याम्पस प्रमुखसँग छलफल

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार ०६:३८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ ।
त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो ।
उहाँले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी गराउनुभयो । “६–सातवटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ । निर्वाचन कार्यतालिका एक–दुई दिन फरक भएपनि केही फरक पर्दैन । हामी सरकार, राजनीतिक दल र विद्यार्थी सङगठनसँग निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्छांै भनेका छौँ’’, उहाँले भन्नुभयो ।
यही फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भएकोमा अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ । नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् ।
निर्वाचन प्रक्रियाअनुसार आजदेखि उम्मेदवारको मनोनयन पत्र वितरण गर्दैछ । त्रिविले ८ वर्षपछि गर्न लागेको यसपटकको स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्दैछ ।