June 4, 2020
11:29 AM | 4:14 PM

ब्रेक्जिट’पछिको बेलायतमा टेरेसाको आगमन

  17th July 2016 मा प्रकाशित

“राष्ट्रलाई एकीकृत र सुशासन दिने जिम्मेवारीबाहेक राजनीति अरु केही होइन ।” नयाँ राजनीतिक परिघटनाबीच नवनियुक्त बेलायती प्रधानमन्त्री टेरेसा मेका अभिव्यक्तिमा उहाँका भावी चुनौतीलाई बुझ्न कठिन पर्दैन । हालैको जनमत सङ्ग्रहको परिणामबाट बेलायतले युरोपेली संघ (इयू) छोड्ने मतादेशसँगै प्रधानमन्त्री डेभिड क्यामरुनले नैतिकताका आधारमा राजीनामा दिएपछि सोही सरकारका गृहमन्त्री मे नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मेका भावी कदम र यात्रालाई विश्वले अब नजिकबाट हेर्न थालेको छ । क्यामरुन सरकारको मन्त्रिमण्डलका २२ सदस्यमध्ये १८ जना इयूसँग बेलायत आबद्ध रहिरहनुपर्ने पक्षमा हुनुहुन्थ्यो । टेरेसासहित चार सदस्य इयूबाट बेलायत अलग हुनुपर्ने मतमा थिए । तर टेरेसा दुवै अभियानलाई सहजीकरण गर्न खोज्ने नेत्री पनि मानिनुहुन्छ । जनमत सङ्ग्रहमा ५१ प्रतिशत मतदाताले इयूबाट अलग हुन जनादेश दिएको थिए ।
संयुक्त अधिराज्य बेलायत आवधिक निर्वाचनबाट नयाँ सरकार बनेको अवस्थामा भएको भए सम्भवतः टेरेसाको यति धेरै चर्चा हुने थिएन । युरोपका अन्य मुलुक र संसारका विकासशील तथा विकासोन्मुख मुलुकलाई पनि प्रभावित पार्ने जनमत सङ्ग्रहपछिको नयाँ सरकारलाई त्यही रुपमा हेरिनु स्वाभाविक हो । त्यसैले त उहाँ भन्नुहुन्छ – “हामी साहसी हुनुपर्छ । मुलुकको भविष्यका लागि नयाँ र सकारात्मक सोचयुक्त हुनुपर्छ । त्यस्तो मुलुक जहाँ व्यक्तिगत सुविधाका लागि मात्र होइन सबै र हाम्रा लागि हामीले काम गर्नुपर्नेछ ।”
बेलायती महारानी एलिजावेथले यही १३ जुलाई, २०१६ मा प्रधानमन्त्रीमा नियुक्त मे पाँच वर्षदेखि त्यहाँको पूर्व गृहमन्त्री हुनुहुन्थ्यो । बेलायतमा यो पदलाई होम सेक्रेटरी भनिन्छ, जसले मन्त्रिपरिषद्को सदस्यका रुपमा काम गर्छ । लेबर पार्टीको प्रतिस्पर्धी आन्द्रिया लिड्समले दाबीबाट आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेतामा निर्विरोध चयन हुँदै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्वका नेताबाट टेरेसालाई बधाई दिने लहर पनि सुरु भएको छ ।
नेपालमा झैँ ५१ प्रतिशत महिला जनसङ्ख्या भएको बेलायतमा ५९ वर्षीया मे त्यहाँकी ‘आइरन लेडी’ मानिने मार्गरेट थ्याचरपछि कन्जरभेटिभ पार्टीको नेताको रुपमा त्यहाँको सरकारको नेतृत्व गर्ने दोस्रो महिला हुनुुहुन्छ । इङ्ल्याण्डको एक बैंकबाट सन् १९८३ मा जागिरे जीवन प्रारम्भ गरेकी मेले सन् १९८५ मा एसोसिएसन फर पेमेन्ट क्लियरिङ सेवामा प्रवेश गर्नुभएको हो । त्यहाँ उहाँले परामर्शदाताका रुपमा काम गर्नुभयो । त्यो संस्थाले लण्डन बरोग अफ मार्टेन्समा पनि परामर्श दिन्थ्यो ।
त्यसपछि उहाँको सक्रियता राजनीतिक यात्रा सुरु भएको देखिन्छ । उहाँले हाउस अफ कमन्समा निर्वाचित हुनका लागि सन् १९९२ र १९९४ मा प्रयास गर्दा असफल हुनुभयो । पछि सन् १९९७ को आम निर्वाचनमा मैडेन्हेडका लागि सांसद हुनुभयो । उहाँले छायाँ सरकारको मन्त्रिमण्डलमा रहेर विभिन्न भूमिका निर्वाह गर्नुभयो । त्यस क्रममा उहाँले विभिन्न पाँच प्रधानमन्त्रीका पालामा पार्टीका तर्फबाट छायाँमन्त्री बन्ने अवसर पाउनुभयो । टेरेसा सन् २००२ मा पार्टीको अध्यक्ष पनि हुनुभयो ।
गत जुन २४ मा प्रधानमन्त्रीबाट क्यामरुनले राजीनामा दिएपछि मेले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता दाबीगर्दै तत्कालै दौडमा अग्रणी देखिनुभयो । उहाँ पार्टीको प्रधानमन्त्रीका प्रतिस्पर्धी आन्द्रियालाई पहिलो चरणको आन्तरिक निर्वाचनमै भारी मतले विजयी हुनुभयो । जहाँ उहाँलाई १९९ सांसदले साथ दिएका थिए । त्यसपछिको पार्टी सदस्यबीचको निर्वाचनमा आन्द्रियाले उम्मेदवारी फर्ता गरेपछि मे निर्विरोध हुनुभएको हो ।
विश्वको शक्तिशाली मुलुक अमेरिकाको आशन्न राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको दौड चलिरहेका बेला बेलायतमा मेको आगमन भएको छ । नेपालमा पनि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिलाले हाँकिरहेको सन्दर्भमा बेलायतमा टेरेसाको नियुक्तिले विश्वभर महिला नेतृत्वको चर्चाले व्यापकता पाएको छ । रोचक कुरा त के छ भने बेलायतका नयाँ गृहमन्त्री पनि महिला (अम्मर रुद्) नियुक्त हुनुभएको छ ।
त्यस्तै शिक्षामन्त्रीमा पनि महिला (जस्टिङ ग्रिनिङ) नियुक्त हुनुभएको छ । बिबिसीका अनुसार मेले क्यामरुनको पालामा भन्दा अक्ब्रिजबाट शिक्षा पाएका धेरैजनालाई मन्त्रिपरिषद्मा सहभागी गराएर पनि नयाँपन दिन खोजेको देखिन्छ तर युवामन्त्री बनाउने सन्दर्भमा उहाँले क्यामरुनलाई जित्न सक्ने छाँट छैन । बेलायतको ‘द गार्जियन’ पत्रिकाले मन्त्रिपण्डलको गठनमा टेरेसाले क्यामरुनकालीन समयबाट फड्कोमार्दै सबैलाई आश्चर्य तुल्याएको भनी टिप्पणी गरेको छ ।
आफ्नो मन्त्रिमण्डलमा लण्डनका पूर्व मेयर (जो विवादमुक्त होइनन्) बोरिस जोन्सनलाई विदेशमन्त्रीमा नियुक्ति दिएकाले पनि टेरेसाको सत्तायात्रा आरम्भमै थप चर्चित बन्न पुगेको छ । जनमत सङ्ग्रहमा बेलायतले इयू छोड्नुपर्ने बे्रक्जिट अभियानका एक खम्बा मानिने बोरिसको नियुक्तिलाई कतिपय मुलुकले आलोचनाको दृष्टिले हेरेका छन् । प्रधानमन्त्रीबाट बाहिरिनुअघि क्यामरुनले आफ्नो उत्तराधिकारी मेलाई बेलायत इयूबाट बाहिरिने प्रक्रिया थाल्दा ऊसँगको सम्बन्धलाई निकट एवम् सुमधुर राख्न दिएको ध्यानाकर्षण नयाँ प्रधानमन्त्रीका लागि एक चुनौतीपूर्ण कार्य हुनेछ । कन्जरभेटिभ पार्टीका नेता डेभिडले जिम्मेवारीबाट बाहिरिनुअघि बिदाई सम्बोधन दिँदै बेलायती संसद् हाउस अफ कमन्समा सम्बन्धलाई निकट एवम् सुमधुर राख्दा बेलायत इयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुनेमा जोड दिएका छन् ।
मेको नियुक्तिपछि बेलायतले आप्रवासीमा नयाँ तरङ्ग पनि पैदा गराएको छ । आप्रवासी मामिलामा कठोर नेत्रीका रुपमा चिनिनुभएकी उहाँले इयूभन्दा बाहिरका मुलुकका लागि गृहमन्त्री हुँदा कडा कानुन ल्याउनुभएको थियो । त्यस पृष्ठभूमिमा हेर्दा इयूबाट बेलायत अलग भएपछि युरोपेली मुलुकका विद्यार्थीलाई पनि बेलायतमा अध्ययन वा भ्रमणका लागि अध्यागमनसम्बन्धी नीति कडा हुने अनुमान गरिएको छ । त्यसो त इयूका विभिन्न २३ देशले बेलायतसँग नयाँ व्यापारिक सम्झौता गर्न इच्छा देखाइसकेको अवस्थामा उहाँले ती मुलुकसँगको व्यापारिक साझेदारी अगाडि बढाउने क्रममा अध्यागमनको कडा नीतिको तादाम्यता खोज्ने अनुमान गरिएको छ ।
गृहमन्त्रीबाट प्रधानमन्त्री बन्ने कमै बेलायती नेतामा टेरेसा पनि एक हुनुहुन्छ । सन् १८५५ मा गृहमन्त्रीबाट लर्ड पाल्मरस्टोन प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि यस्तो राजनीतिक बढुवा (फड्को)को हैसियतमा टेरेसा देखा पर्नुभएको हो । बेलायतमा गृहमन्त्री प्रायः विवादमा पर्ने र चाँडो फेरिने गर्नाले पनि सो मन्त्रालय सम्हालेपछिको राजनीतिक भविष्य कमजोर हुने गरेका उदाहरण छन् । बेलायती पत्रिका ‘इकोनोमिस्ट’ले त्यहाँका गृहमन्त्रीलाई ‘राजनीतिक जीवनको चिहान’ भनी टिप्पणीसमेत गरेको चर्चा हुने गर्दछ तर टेरेसाले त्यस्ता टिप्पणीलाई कमजोर सावित गर्दै चुनौतीको घडीमा नयाँ जिम्मेवारी लिनुभएकाले उहाँको भावी यात्रा सबैका लागि चासोको विषय बन्नेछ ।
एक कुशल मध्यस्थकर्ताका रुपमा पनि लिइने टेरेसाको जम्न सन् १९५६ को अक्टोबर १ मा भएको हो । आरन लेडीको नामबाट बेलायती राजनीतिक इतिहासमा एउटा छाप छोड्न सफल भएकी थ्याचर पछिको उहाँको यो कार्यकारी प्रमुखको यात्रालाई अब बेलायत मात्र नभएर विश्वमा नै चासो र चर्चाका रुपमा हेरिने नै छ । बेलायतको विशेष र विकट परिस्थितिले जन्माएको एकजना महिला नेत्रीका भावी कदमहरुबाटै उहाँको सफलता र लोकप्रियताको मापन हुने नै छ ।

प्रतिक्रिया