kumar Yatruकुमार यात्रु
पार्टी स्थापनाको २६ बर्ष पछि राप्रपाको एकता महाधिबेशन यसै साताबाट सुरु हुने भएको छ । बिभिन्न खाले द्विविधा र आशंका बीच सुरु हुन लागेको यो महाधिबेशनका केही चुनौति र केही अपेक्षाहरु छन् । खासगरेर नेपाली समाजका रुढ र परम्पराका पक्षपातिहरु बीचको साझा बैचारिक मिलनबिन्दूको खोजी यसको प्रमूख चुनौति हो भने तिनको व्यबस्थापन गरी एक राजनीतिक शक्तिको रुपमा उदय हुने त्यस पङ्तीको अपेक्षा हो ।
राप्रपा मूलतः कन्जरभेटिभ दल हो । उसले स्थापना कालमा अगाडि सारेको राष्टियता, प्रजातन्त्र र उदारबादको मूल मान्यतालाई त्यतिसारो चासो दिएको जस्तो लाग्दैन । यसका संस्थापक मध्येका लोकेन्द्रबहादुर चन्द बाहेकका अरु नेताहरुले स्थापना कालको स्मरण त्यती साह्रो गर्न चाहँदैनन् । पार्टिलाई यहाँसम्म ल्याउने पार्टीका संस्थापकहरु सूर्य बहादुर थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती, हेमबहादुर मल्ल, डा मोहम्मद मोहसीनहरु आज यस धरतीमा छैनन् । तैपनि तत्कालीन अवस्थामा उहाँहरुको उपस्थितिले राप्रपालाई एक प्रतीकात्मक अर्थ दिएको हुन्थ्यो । त्यसैकारण तत्कालीन राप्रपाले नारा नै दिएको थियो–हिमाल पहाड र तराई, कोही छैन पराई । तर अहिलेको एकीकृत राप्रपाले त्यस प्रकारको नारा दिन सक्दैन । अहिले राप्रपामा जुन प्रकारको संयोजन र स्कूलिङको विकास भएकोछ, संभवत यसले ‘हामी सबै नेपाली एक हौ’ भन्ने सन्देश प्रबाह गर्न असमर्थताको संकेत गर्दछ । किन पनि यस प्रकारको आशंका गरिन्छ भने राप्रपाको बिद्यमान मान्यता र चरित्र एकल जातीय राष्ट्रवादबाट प्रेरित छ ।
राप्रपाका अधिकाँश नेताहरु अनुभवको कुरा गर्छन् । केही नेताहरुमा देश चलाउने अनुभव पक्कै छ । अहिलेका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्व अध्यक्ष पशुपतिशम्सेर राणा, अर्का नेता लोकेन्द्रबहादुर चन्द बिभिन्न कालखण्डमा राज्यको निर्णायक तहमा रहेर काम गरी सक्नुभएको हुनुहुन्छ । यसै गरी बुद्धिमान तामाङ, दीपक बोहरा, राजीव पराजुली, बिक्रम पाण्डे उदीयमान राष्टिय व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरु अनुभवी पनि हुनुहुन्छ, यसमा शंकै छैन । तर अनुभवसंगै उहाँहरु पाका पनि हुनुहुन्छ । अवको पार्टी पाकाको अनुभवले होइन उचित नीति र सम्लग्न कार्यकर्ताहरुको उच्च मनोबलले चल्ने हो ।
राप्रपा महाधिबेशन प्रतिनिधिहरुको नामावली हेर्दा धेरै प्रतिनिधिहरु क्षितिजमा देखिने सूयोदय जस्तै लाग्छन् । उनीहरुको बैचारिक निरन्तरता र आस्थाको खँदिलो अवस्थाबारे मलाई उति साह्रो जानकारी छैन । उनीहरुको राप्रपा प्रतिको लगाव र योगदानका बारे नेपाली मिडियाले प्रकाश पार्न नसकेका कारण पनि यस्तो हुन सक्छ । अर्थात नेपाली मूलधारको मिडिया राप्रपाको अस्तित्व प्रति त्यति सकारात्मक नभएकैले यो स्थिति देखिएको हुन सक्छ । तर पनि यसपटक राप्रपाको हरेक जिल्लामा प्रतिनिधि छनौटमा देखिएको प्रतिस्पर्धा र आन्तरिक प्रजातान्त्रिक वातावरणले यो पार्टीमा नयाँ पुस्ताको आकर्षणलाई प्रष्ट पार्दछ ।

समयले वा नियतिले हामी नेपालीहरुलाई यो बिन्दूमा ल्याईदिएको छ कि दैनिक जिविकाको प्रश्नलाई गौण र पहिचानको सवाललाई प्रधान बनाउने अवस्था सिर्जना गरिदिएको छ । यसलाई संवोधन गर्ने राष्ट्रवाद चाहिएको छ । यसका विपरित फगत कोरा राष्ट्रवादको नाराले गन्तव्य नाजीवाद त नभनौ नवनाजीवाद चाही पक्कै हुन्छ ।

यसपटक जिल्लातिर जाँदा केही राप्रपाका कार्यकर्ताहरुलाई भेटेको थिएँ । यस क्रममा उनीहरुमा देखिएको आत्मविश्वास र संगठन गर्ने शैलीप्रति अत्यन्त्यै प्रभावित बनेको थिए । उनीहरुमा मूलतः २०६२-६३को राजनतिक परिबर्तन पछि राष्टिय राजनीतिमा देखिएको निराशालाई चिर्दै उज्यालोको तीब्र प्रतीक्षामा रहेको प्रतिविम्ब पढ्न सकिन्थ्यो । दश बर्षे माओबादी द्वण्द्व र त्यपछिको संक्रमणले देशलाई बनाएको थिलथिलो अवस्थाबाट मुक्तिको प्रयत्न उनीहरुको भावबाट प्रष्टै झल्कन्थ्यो । पछिल्लो कालमा स्थापित राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादी केन्द्रको स्थानीय तहमा देखिने हालमुहालीबाट आक्रान्त भएको उनीहरुके अभिव्यक्तिमा प्रष्टै बुझन सकिन्थ्यो ।
यसबाट राप्रपामा नयाँ संभावना त देखिएको छ, तर त्यो संभावनाको भरपर्दो व्यबस्थापनमा भने आशंकै आशंका छ । एक राष्ट्रिय पार्टीले राष्ट्रवादी सोच र बिचारको जगमा मात्र सम्पूर्ण चुनौतिको व्यबस्थापन गर्न सक्छ । देशमा राजा छैनन्, तर नेपाल राष्ट्र जिवित छ । यो राष्ट्रको सम्बृद्धि विना राष्ट्रियताको सुरक्षा हुन सक्दैन । यसको बैकल्पीक मार्गचित्र राप्रपाले दिन सक्नु पर्छ । देशको एक चौथाई युवा मरुभूमिमा पसिना बगाउँदै छन् । त्यसको विकल्पमा राप्रपाको के सोच छ ? कोही कसैले उनीहरु बिनाको राष्ट्रवाद मान्छन् भने त्यो भ्रम मात्र हुनजान्छ ।
सबैलाई प्रष्टै छ, राप्रपाको राष्ट्रवाद हिन्दू प्रेम हो । देशमा हिन्दू राष्ट्र हुँदैमा राष्ट्रबाद फस्टाउने कुरा सर्बमान्य बिचार होइन । देशमा हिन्दूहरु बहुमतमा होलान् तर देशमा अन्य धार्मिक समूदायपनि छन् भन्ने कुराको हेक्का भएन भने यस्तो राष्ट्रवाद अन्तत्वगत्व नश्लीय नाजीवादमा परिणत हुने खतरा पनि त्यतिकै छ ।
अहिले बिश्वमा नाजीवादको अस्तीत्व छैन । जर्मन नागरिकहरुमा राष्ट्रवादको भावनालाई उजागर गर्न सुरु भएको हिटलरको नाजीबादले दोस्रो बिश्वयुद्ध उदय भएझै नेपालमा पनि नश्लीय राष्ट्रवादको समस्यालाई आमन्त्रण गर्न सक्ने खतरा छ । हिन्दू राष्ट्रवाद जति खतरनाक छ, त्यतिकै किरात राष्ट्रवाद, बौद्ध राष्ट्रवाद पनि उत्तिकै हानीकारक छ । समस्याको मूललाई नकेलाई गरिने हर्कतले केही छिनका लागि लोकप्रियता आर्जन गर्न सकिएला तर यसको दीर्घकालीन प्रभावकाबारे पनि सोचिनु आवश्यक छ ।
देशमा यतिबेला सामाजिक बिखण्डन र जाती भाषा, धर्मको राग अलाप्ने नयाँ प्रबृत्ति देखिएको छ । अव यो गलत हो भनेर खण्डन गर्दैमा समस्याको गहिराई फेला पर्दैन । खास गरेर देशका सीमान्त नागरिकहरुको मनमा जागेको उपेक्षा र हिनताको भावनालाई रुपान्तरण गरेर आसाको दियो नजगाई हाम्रो सामू उभिएको संभावित द्वण्द्वको टुशालाई बिसर्जन गर्न सकिन्न । राष्ट्रवाद सकारात्मक सोच र देशलाई नयाँ उचाईमा लैजाने बिषय हुँदा हुँदै पनि राष्ट्रवादको उचित परिभाषा र मान्यता स्थापना गर्न सकिएन भने यसले समाजलाई नकारत्मक दिशामा पनि लैजान सक्छ । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रमको उदय तथा छिमेकी मुलुक भारतमा नरेन्द्र मोदीको एकछत्र राजले धेरै मानिसहरु राष्ट्रवादको लहरको व्याख्या गर्ने गर्दछन् । तर नेपाली परिप्रेक्षमा नेपाली समाजको बनावट र उनीहरुको मनोभावना बुझन सकिएन भने त्यो उल्टो यात्रा पनि हुन सक्छ ।
नेपाली नागरिकमा राष्टवादी भावनाको कही कतै कमी छैन । तर यो बिचारले नेपाली समाजको प्रतिनिधित्व कतिको गर्छ भन्ने प्रश्न मूख्य हो । कुनै समूदाय र राष्ट्रिय तत्वहरु यसको मूलप्रबाहिकरणमा कसरी समेटिन्छन् भन्ने जिज्ञाशा चाही बाँची रहन्छ । समयले वा नियतिले हामी नेपालीहरुलाई यो बिन्दूमा ल्याईदिएको छ कि दैनिक जिविकाको प्रश्नलाई गौण र पहिचानको सवाललाई प्रधान बनाउने अवस्था सिर्जना गरिदिएको छ । यसलाई संवोधन गर्ने राष्ट्रवाद चाहिएको छ । यसका विपरित फगत कोरा राष्ट्रवादको नाराले गन्तव्य नाजीवाद त नभनौ नवनाजीवाद चाही पक्कै हुन्छ ।
देशका सबै नागरिक राजेन्द्र लिङ्देन बन्न सक्दैनन् । राजेन्द्र लिङ्देन जस्ता होनहार व्यक्तित्व जो लिम्बूको छोरा भएर पनि लिम्बूवान स्वीकार गर्दैन । आदिवासी जनजाति भएर पनि आदिवासी जनजातिलाई प्राप्त आरक्षणलाई पुनमूल्याँकन माँग गर्दछन् । यो एक प्रकारले सवल राष्टबादमा समर्पित उच्च अभिव्यक्ति हो । राप्रपाले राजेन्द्रजस्ता पात्र पनि पाएको छ । ख्याल गर्नु पर्ने कुरा के छ भने नेपाली समाजमा सबै लिम्बूको छोराहरु राजेन्द्र लिङ्देन बन्न सकेका छैनन् । सबै धर्तीपुत्र राईका छोराहरु रबिन चाम्लीङ बनेका छैनन् । सबै नेवारका छोराहरु मनोज प्रधान वा मोहन श्रेष्ठ बनेका छैनन् । पाँचथरका प्रेम थाम्सुहाङ र मानदेब केरुङ र मोरङका प्रल्हाद शाहका पीडा समान छैन । कालिकोटका प्रेम बहादुर शाही र धन बहादुर शाही अनि बैतडीका जयन्त चन्दको पनि समान अनुभूति छैन । यसै कारण पनि नेपालको विविधतालाई हाम्रो राष्ट्रवादले संरक्षण तथा सम्बोधन गर्न सकेन र फलाउन फूलाउन सकेन भने हाम्रो राष्ट्रवाद कलहको बिउ पनि हुन सक्छ ।
हाम्रो नेपालीत्वको प्राण नै नेपाली समाजको विविधतामा अडेको छ । यो साझा फूलबारीका सबै फूलहरुले समान ढंगले फक्रन, फूल्न पाउनु पर्छ । हैन भने त यो फूलबारी खरबारी मात्र हुन्छ । राप्रपाको यो महाबिधेशनले यो पक्ष ध्यान दिन सक्नु पर्छ, हैन भने फेरि हामीले सोध्नु पर्ने हुन्छ, राप्रपा कता ?