१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन गर्नुबाहेक अर्को विकल्प छैन : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार १३:३९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।
आजबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै ओलीले नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेलाको कार्यभार हो भन्नुभयो ।
संविधानले समेत निर्दिष्ट गरेमुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनका माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिँदै उहाँले स्थानीय तह र केन्द्रीय तहका निर्वाचनको मिति अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।
आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको सङ्गठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारलगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । १० पेज लामो उक्त प्रतिवेदन पोलिटब्युरो सदस्यले अध्ययन गरी भोलिको बैठकमा राय, सुझाव तथा धारणा प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा पार्टी स्थायी समितिद्वारा पारित यही फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजना सचिवालय सचिव प्रदीप ज्ञवालीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । त्यसैगरी यही फागुन १४ गते देशभरिका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थीको निर्वाचन र त्यसमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा सचिव योगेश भट्टराईले बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो ।