४ बैशाख २०८१, मंगलवार
Follow Us

बालिका बलात्कारको भिडियो खिच्ने पक्राउ

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार ०६:३७

कपिलवस्तु । सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताउनुभयो ।
उनीहरूमाथि गत माघ २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोप छ । सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ । सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी शिवराज नगरपालिकाकी छ वर्षीय बालिकाको बलात्कारपछि हत्याकोे अभियोग लागेका शिवराज नगरपालिका–१० प्रगतिटोल बस्ने १८ वर्षीय भीमबहादुर कुँवरलाई पनि पक्राउ गरिएको छ । शोभाखर अधिकारीको छोरी छ वर्षीया सीतालाई बलात्कार गरी जुवइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।