१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायत कांग्रेसको झगडा मिलाउन लन्डन दूतावास सकृय

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार ०७:५८

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री तथा सभामुख रामचन्द्र पौडेल बेलायत आएका बेला यूकेको कांग्रेस विवाद टुंग्याउने पहल जारी छ । मंगलबार लन्डनस्थित नेपाली दूतावासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेता पौडेलसहित जनसम्पर्क समितिका पदाधिकारीलाई रात्रीभोज दिएर विवाद मिलाउने पहल गरेका थिए । नेता पौडेल, राजदूत सुवेदीसहित दूतावास कर्मचारी र नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीबीच लामो छलफल भएपनि निष्कर्षमा भने पुग्न सकेन ।

एक सहभागीले बताए अनुसार भेलामा विश्वआदर्श पण्डित, कुल आचार्य, महेशकुमार दाहाल, सूर्य नेम्वाङ, 
राजकुमार त्रिपाठी, विज्ञान प्रसाईं, चिन्तन पौडेल, चिरन्जिवी ढकाल, विजन भट्ट, दीपक भट्टराई, युवराज गुरुङ, कृष्ण गुरुङ, डा. मिन रानाभाट लगायत जनसम्पर्क समिति आवद्ध दुवै पक्षका डेढ दर्जन पदाधिकारी त्यहां उपस्थित थिए ।

दूतावासमा करिब २ हप्ता देखी बस्दैं आएकी नेपाली कांग्रेसकी नेता तथा संसद आरजु देउवा रात्रीभोजमा सहभागी हुने अपेक्षा गरिए पनि उनी बैठकमा आइनन् । दूतावासले नेता पौडेलको सम्मानमा आयोजित प्राइभेट डिनर भएको दावी गरेको छ् ।

पूर्वउपप्रधानमन्त्री तथा सभामुख समेत भैसकेका पौडेलको सम्मान आयोजित डिनरमा पार्टी कार्यकर्तालाई मात्र निमन्त्रणा दिए पछि दूतावास आलोचित भएको हाे । यसअघिका राजदूतहरुले राष्ट्रिय नेताहरुको लागि आयोजना गर्ने डिनरमा बेलायतस्थित सामाजिक अगुवा, बुद्धिजीवि तथा पत्रकारलाई समेत आमन्त्रण गर्ने प्रचलन विपरीत दूतावासले पार्टी कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

सन् २००९ देखिका समिति सभापति लोक गुरुङ भने पार्किङ समस्या र अन्यत्र जरुरी काम भएको बहाना बनाउंदै दूतावासबाट लगत्तै बाहिरिएका थिए । केही सहभागीले उनी वार्ताबाट उम्कन बहाना बनाएर निस्किएको समेत आरोप लगाएका छन ।

बैठकमा समितिभित्र केही पदाधिकारीको पदलोलुपता कायमै रहेको, लोक गुरुङले पद छाड्न नचाहेको, समितिको काम नेता आउंदा झण्डा बोकेर लिन जानेमात्र भएको, एकअर्काप्रति सम्मानभाव नभएको जस्ता भनाइ 
राखेका थिए ।

भेलामा सहभागी नेपाली कांग्रेस महासमिति सदस्य तथा महाधिवेशन यूके प्रतिनिधि महेशकुमार दाहालका अनुसार वार्ता सकारात्मक रुपमा बढेको छ र एक दुई दिनभित्रै फेरि अर्को भेला डाक्ने तयारी छ । ‘हामी रामचन्द्र दाई यूके भएकै बेला गतिरोध अन्त्य गर्ने अभियानमा छौं’, दाहालले भने ‘विवादले निकास पाउंछ ।’ पौडेलले झगडामा अल्झिनु भन्दा एकता अधिवेशन गरेर देशका लागि केही रचनात्मक काम गर्न आग्रह गरेका थिए ।

उक्त जमघटमा राजदूत डा. सुवेदीले आफूले पदभार सम्हालेपछि दूतावासमा भएका सुधारबारे अवगत गराएका थिए । उनले सेवा समय विस्तार भएको, सेवाग्राहीलाई ध्यान दिंदै कार्यालयभित्रै फोटोकपी मेसिन 
राखिएको, उही दिन भिजा दिने व्यवस्था मिलाइएको जस्ता सुधारका कामबारे अवगत गराउंदै बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष गांठ समापन समारोहको तयारी सम्वन्धमा समेत जानकारी दिएका थिए ।

-वीनेपालीको सहयोगमा
16730529_10154991903614476_8077215814135580325_n-768x576