८ बैशाख २०८१, शनिबार
Follow Us

स्टेज उक्लेवापत गीतकार/संगीतकारलाई रोयल्टी

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार १३:१२

काठमाडौं । गायिका सहिमा श्रेष्ठले आफूले स्टेजमा गाएवापत गीतकार र संगीतकारलाई रोयल्टी बुझाएकी छन् । गीतकार तथा संगीतकारहरुले गायक÷गायिकाले स्टेज चढेको पनि आफूहरुले ‘रोयल्टी पाउनु पर्ने’ आवाज उठाइरहेका बेला सहिमाले उक्त आवाजको स्वागतस्वरुप रोयल्टी दिएकी हुन् ।
राजधानीमा एक समारोहबीच उनले संगीतकार दीप्क शर्मा र गीतकार लेखु सहयात्रीलाई एक वर्षयताको एक मुष्ठ रोयल्टी प्रदान गरेकी हुन् । सहिमाले विभिन्न स्टेजमा कार्यक्रममा संगीतकार शर्मा र गीतको लेखुको ‘तिम्रो डोला डोला हातमा…’ र ‘तिम्रो पिक्चर हिट…’ बोलको गीत गाउँदै आएकी छन् । यिनै गीतको चचाले सहिमाले गर्दा देश–विदेशमा कार्यक्रम पाउँदै आएकी छन् । रोयल्टी वितरणपछि सहिमाले भनिन्, ‘जुन गीतबाट हामीले चर्चा पाइरहेका हुन्छौं र स्टेज पाएका छौं । त्यसैको आधारमा गीतकार तथा संगीकारको मिहिनेतलाई कदर गरेर रोयल्टी दिएकी हुँ ।’ रोयल्टी कति प्रतिशत भन्दा पनि कार्यक्रमअनुसार आफूले चाहेकी केही प्रतिशत रोयल्टी बुझाएको सहिमाले बताइन् ।
हुन त हलिउड हलिउड र बलिउडमा गायक÷गायिकाले स्टेज चढेवापत रोयल्टी दिने चलन पहिल्यैदेखि चल्दै आएको छ । कुनै पनि गायक तथा गायिकाले स्टेजमा गाएको गीतको रोयल्टी दिने नियम हलिउड हुँदै बलिउडसम्म आएको हो । पछिल्लो समय नेपालमा पनि गायक वा गायिकाले स्टेज चढेको रोयल्टी पाउनु पर्ने माग गीतकार तथा संगीकारले गर्दै आएका छन् । तर, अहिलेसम्म उक्त माग केवल मागमै सिमित छ । यस्तो आवाज उठाइरहेका बेला केही साताअघि गायक कृष्ण काफ्लेले आफूले स्टेज चढेको रोयल्टी गीतकार र संगीकारलाई बुझाएका थिए । उनले ‘देखन चम्पा’ का गीतकार शान्तिप्रिय र संगीतकार दीपक शर्मालाई रोयल्टी दिएका हुन् । नेपाली सांगीतिक क्षेत्रमा स्टेज चढेवापत रोयल्टी दिने उनी पहिलो नेपाली गायक पनि हुन् । त्यस्तै, सहिमाले पनि आफूले स्टेज चढेको रोयल्टी बुझाएर गीतकार तथा संगीकारको आवाजलाई थप प्रेरणा र हौसला दिने काम गरेकी छन् ।
रोयल्टी पाएपछि संगीकार शर्माले भने, ‘हामीले कुरा उठाइरहेका बेला जुन संस्थागत नै नभइ गायिका सहिमाले रोयल्टी दिइन् । उहाँको यो सुरुवाती चलनप्रति एकदमै खुसी छु ।’ त्यस्तै, गीतकार सहयात्रीले पनि सहिमाको कदमलाई स्वागत गर्दै अरु गायक÷गायिकाले पनि स्टेज चढेको रोयल्टी दिने चलनलाई अंगिकार गर्नुपर्ने बताए ।