१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार ०६:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुँदैछ । महाधिवेशनको विशेष कार्यक्रमबीच पार्टी अध्यक्ष कमल थापाले उदघाटन गर्ने कार्यक्रम छ । उदघाटन कार्यक्रममा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ । उदघाटन समारोह अघि काठमाडौँका विभिन्न ५४ ठाँउवाट सांस्कृतिक बाजागाजा, झाँकी सहित -याली निकाल्ने छ । महाधिवेशनका लागि सबै प्रतिनीधिहरु काठमाडौं आइसकेको राप्रपाले जनाएको छ । राप्रपाले महाधिवेशनका लागि वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट प्रतिनिधि छनोट गरेको छ । महाधिवेशनमा तीन हजार ३ सय १५ प्रतिनिधि छनोट भएका छन् । प्रवास अन्तर्गत भारत, हङकङ संयुक्त राज्य अमेरिका लगायत मुलुकबाट समेत प्रतिनीधि आएका छन् । तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण गत मङ्सिर ६ मा भएपछि सो महाधिवेशन गर्न लागिएको छ । पार्टीले विधान संशोधनको कार्य पूरा गरिसकेको छ । अध्यक्षको नेतृत्वमा १ सय ६१ केन्द्रीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन गरिनेछ । अध्यक्षका लागि कमल थापाको नाममा सर्वसहमति भएकाले अब १ सय ६० केन्द्रीय सदस्यका लागि शनिबारदेखि निर्वाचनको प्रक्रिया सुरु हुने छ । मतदान भने सोमबार हुने कार्यक्रम छ ।

फेसबुक र युट्युबमा लाईभ हेर्न सकिने
भृकुटीमण्डप प्रवेशद्वारा पुतलीसडकबाटै बन्द गरिएको छ । टुकुचाको तरकारी बजारदेखि पर्यटनबोर्डसम्म ५ वटा ठूल ठूला स्क्रिन राखिएको छ । भृकुटीमण्डपको बगैचामा आयोजना गरिएको उद्घाटन कार्यक्रम ती स्क्रिनमा प्रत्यक्ष देख्न पाइन्छ । कम्प्युटर प्रणालीअन्तर्गत प्रत्यक्ष प्रशारण गरिएको हुनाले उक्त कार्यक्रम फेसबुक र युट्युबमा हेर्न पाइने राप्रपाले जनाएको छ ।