१३ बैशाख २०८१, बिहीबार
Follow Us

पशुपतिक्षेत्रको चौथो बृहत् गुरुयोजना तयार

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार ०६:५७

काठमाडौं । पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको जानकारी गराइयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष जीवनबहादुर शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । “पशुपति क्षेत्रलाई अध्ययनस्थल एवम् पावनस्थलका रुपमा विकास गरेमा विदेशी पर्यटक र गैरहिन्दूका लागि आकर्षकको केन्द्र बन्नुका साथै विश्वमा नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुनेछ”, उहाँले भन्नुभयो । पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री शाहीको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा जोड दिनुभयो ।
कोषका सदस्यसचिव डा गोविन्द टन्डनले एक सातापछि तीन चरणमा धार्मिक, पौराणिक, सांस्कृतिक र वास्तुशास्त्रीय विषयका विज्ञलाई कार्यपत्र तयार गर्न लगाई कार्यशालामा प्रस्तुत गराई गुरुयोजना निर्माण गरिने जानकारी गराउनुभयो । कोषाध्यक्ष तारानाथ सुवेदीले राष्ट्रिय गौरवको पशुपति क्षेत्र आयोजनालाई समयमा नै सम्पन्न गर्न गुरुयोजना अत्यावश्यक भएको बताउनुभयो ।