७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनको मिति छिट्टै घोषणा हुने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई राजनीतिक दुर्घटनामा जान नदिन संविधान कार्यान्वयनमा सहयोग पु-याउन सबै दललाई आह्वान गर्नुभएको छ । राप्रपाको आजदेखि यहाँ सुरु भएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले संविधान संशोधन र निर्वाचनको प्रक्रियालाई एकैसाथ अघि बढाउने तयारी गरिरहेको जानकारी दिनुभयो । संविधान संशोधन समग्र संविधान कार्यान्वयनसँग जोडिएको विषयवस्तु भएको जनाउँदै प्रधानमन्त्रीले निर्वाचन मुलुकका लागि अपरिहार्य र संविधान कार्यान्वयनका लागि निर्विकल्प रहेकाले छिट्टै मिति घोषणा हुने बताउनुभयो ।
मुलुकको अब आउने दिन पनि त्यति सहज नभएकाले त्यसलाई बुझेर बताउँदै राप्रपाले देश र जनताको हितका पक्षमा निर्णय गर्न आवश्यक रहेको सुझाव नेकपा(माओवादी केन्द्र)का अध्यक्षले दिनुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभित्रका सबै जातजाति र समुदायबीच मेलमिलाप बढाउने र सद्भाव बढाउने काम गर्नका लागि संविधान संशोधनमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “संविधान संशोधन भएको खण्डमा हिमाल, पहाड र तराईको झगडा हट्ने छ, मुलुकलाई सङ्क्रमणकालबाट छिटो निकास दिन ११ महिनाभित्र तीन तहको निर्वाचन गर्न जरुरी छ, त्यसका लागि संविधान संशोधन र निर्वाचनको लागि सबै राजनीतिक दलको सहभागिता र सहमति आवश्यक छ ।”
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, शान्ति र स्वाधीनताका लागि राप्रपाले पु-याउँदै आएको योगदानको प्रशंसा गर्दैै राष्ट्रियताका विषयमा राप्रपा प्रखर, छर्लङ्ग र दृढताका साथ नयाँ शक्तिका रुपमा उभिन आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो– “संविधान संशोधनको प्रस्ताव देशको हित र जनताको भावना विपरीत भएकाले सदनबाट पास हुन्न, हुन दिन्नौँ । ”