१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टीभित्र प्रजातान्त्रिक संस्कारलाई बलियो तुल्याउन जोड

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लामो समयदेखि सङ्कटको भुमरीमा परेको मुलुकलाई समाधान दिन एकता महाधिवेशनमार्फत सबै नेता तथा कार्यकर्ता गोलबन्द हुन आवश्यक रहेको बताउनुभएको छ । राप्रपाको प्रथम एकता महाधिवेशनको आज स्थानीय भृकुटीमण्डपमा उद्घाटन गर्दै अध्यक्ष थापाले राष्ट्रवादीबीचको एकतामा जोड दिनुभयो ।
सोही पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई कुनै समूहविशेषको पेवा बनाउने प्रवृत्तिको अन्त्यका लागि पार्टीभित्र प्रजातान्त्रिक संस्कारलाई बलियो तुल्याएर शक्ति सन्तुलन कायम राख्ने कामलाई आफूले सधँै शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले असाधारण दिनका रुपमा रहेको राप्रपा एकता महाधिवेशनले दिएको एकताको सन्देशलाई दीर्घजीवी तुल्याउन आवश्यक रहेको बताउनुभयो । वरिष्ठ नेता पशुपतिशम्शेर जबराले ‘मुलुकको हित र जनताको भावनानुरुप अरु दलले काम गर्न नसकेकाले’ देशको विकासको नेतृत्व गर्न राप्रपा एक भएको हो भन्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको विकास र हितका लागि नेपाली राजनीतिमा राप्रपाले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले नेपालको संविधान अपुरो र अधुरो रहेकाले त्यसलाई संशोधनको माध्यमबाट पूर्णता दिनुपर्नेमा जोड दिँदै एउटा क्षेत्र र समुदायविशेषको मात्र नभई समग्र नेपाली जनताको दलका रुपमा राप्रपालाई स्थापित गर्न नेताहरुलाई सुझाव दिनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा(माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, राप्रपाका उपाध्यक्ष राजीव पराजुली र बुद्धिमान तामाङ, महासचिव राजेन्द्र लिङ्देन, नेता धवलशम्शेर राणा र टङ्क ढकाल, नेतृ कुन्तीकुमारी शाही, नयाँ शक्ति पार्टीका नेता गङ्गानारायण श्रेष्ठलगायतले राष्ट्रियता, स्वाधीनता, विकास र शान्तिका लागि राजनीतिक दलले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदर्शनी मार्गको सडकमा आयोजना गरिएको एकता महाधिवेशनको उद्घाटन समारोहको नेपाल टेलिभिजनलगातका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहमा राष्ट्र र राष्ट्रियता प्रवद्र्धन गर्ने खालका गीत तथा सङ्गीत प्रस्तुत गरिएको थियो ।