१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलि निर्वाचनको मिति घोषणा हुने, शनिबार मोर्चासँग वार्ता

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार ०५:०४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग आज शनिबार छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिनुभयो । राजनीतिक सल्लाहकार खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।
शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको छ । प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।
सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको बताउनुभयो । अध्यक्ष झाले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरिएको र प्रधानमन्त्री निवासमा मोर्चा आबद्ध दल सहभागी हुने जानकारी दिनुभयो ।