१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्रपाले १ सय ६१ केन्द्रीय समिति आज छनोट गर्ने

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार ०५:१०

काठमाडौं । काठमाडौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । आज विधान संशोधन प्रस्ताव पेश हुँदैछ । भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । फागुन ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने यस महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ ।
संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ । केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ । संशोधित विधानले अध्यक्षसहित २५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारीमा उपाध्यक्ष ५, महामन्त्री ३, कोषाध्यक्ष एक, प्रवक्ता एक, सहमहामन्त्री ५, सहायक महामन्त्री ७ र सहायक प्रवक्ता २ जना रहने व्यवस्था गरिएको छ ।
१६१ सदस्यीय केन्द्रीय समितिमा ६० प्रतिशत संख्याको मात्र चुनाव हुने छ । ४० प्रतिशत केन्द्रीय सदस्य भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । देशभरबाट चुनिएर आएका ३ हजार ३ सय १५ प्रतिनिधिले महाधिवेशनमा भाग लिएका छन् । पार्टीले राजसंस्थासहितको हिन्दू राष्ट्र र स्थानीय स्वायत्त शासनलाई मार्ग निर्देशक बनाएको छ । नेतृत्वका लागि कमल थापामा सर्वसम्मती कायम गरेको बताइए पनि थापा पक्षले सहमति पालना नगरेको भन्दै डा. प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने बताएका छन् ।
विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र २ जना प्रवक्ता तोक्ने लगायत प्रस्ताव गरिएको छ । पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।