May 29, 2020
11:49 PM | 4:34 AM

रङ्गमञ्चमा ‘रातभरि हुरी चल्यो’

  18th February 2017 मा प्रकाशित

काठमाडौं । रातको एघार बज्न लागेको छ । छानामा ठोकेका मट्टितेलका टिनहरुलाई हावाले जोडतोडले हल्लाउन थालेपछि माइलालाई घरको छप्परै उठाएर लैजाला कि भन्ने डर लाग्छ । सित्तैमा बारी पाइने लोभमा माइली (श्रीमती)ले कर गरेपछि हुँदाखाँदाको पुलिसको जागिर छाडेर माइला साना छोराछोरी सहित रुङदुङ खोला नजिकै बसाइ सरेका हुन्छन् । यसरी रात–रातभरी हुरी चल्न थालेको सात दिन भइसकेको हुन्छ । आजको रात हुरीसँगै पानी पनि दर्केर पर्न थालेपछि पहिरो जाने डरले बुढाबुढी रातभरि डराइरहन्छन् । दुई पात्रबीचको मानसिक द्वन्द्व बढ्दै जान्छ ।
प्रसिद्ध आख्यानकार इन्द्रबहादुर राईले लेखेको कथा ‘रातभरि हुरी चल्यो’को कथानक हो । यसलाई नाट्य रुपान्तरण गरी हाले काठमाडौं र ललितपुरका विभिन्न प्रेक्षालयहरुमा ‘रातभरि हुरी चल्यो’ मञ्चन गरिएको छ । ज्योतिपुञ्ज साइन थिएटरका कलाकारहरुले यसलाई नाटकको रुप दिएका हुन् । नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना, निर्देशन र नाट्य रुपान्तरणमा ‘रातभरि हुरी चल्यो’ मञ्चन गरिएको हो । एघार र बाह्र कक्षाको पाठ्यक्रममा समेत रहेको ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राईको एक प्रतिनिधि कथा मानिन्छ । उनले दार्जिलिङ वरिपरिको ग्रामीण र सहरिया जनजीवन र प्राकृतिक विपत्तिले निम्त्याएको त्रासद परिस्थितीलाई यसमा कथानक बनाएका छन् । नेपाली जनजीवनमा पनि समसामयिक देखिएकोले यसलाई नाटकीय रुप दिएको निर्देशक यात्रीले बताएका छन् । यसअघि यात्रीले रमेश विकलको ‘लाहुरी भैंसी’, विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’, रोसन थापाको ‘नरदानव’, आफ्नै ‘अपात्र र सारङ्गीको धून’ लगायतका कथाहरुलाई नाट्य रुपान्तरण गरी रङ्गमञ्चमा प्रस्तुत गरिसकेका छन् । कविता मञ्चनमा समेत लामो अनुभव सँगालेका यात्री भन्छन्, “साहित्यका अन्य विधाले पनि बेला–बेला नेपाली नाट्यरुप पाउने गरेको छ जसले नाट्यसौन्दर्य बढाएकै छ” ।
‘रातभरि हुरी चल्यो’ मा मुख्य भूमिकामा अशोक शिवाकोटी र जमुना तिवारीले अभिनय गरेका थिए । यसैगरी काजी रम्तेल, देबु वरा, अवतार कँडेल, लक्ष्मण पौडेल, डम्बर ढकाल, समीर राई, गणेश दुलाल, ज्ञानकुमार खड्का, आशिष खत्री, राजीव धमला र विजय अधिकारी पनि अभिनय गरेका थिए । यी नाट्य–कलाकार टोलीले ‘रातभरि हुरी चल्यो’नाटकसँगै ‘शिक्षाका लागि रङ्गमञ्च’ भन्ने अभियानअन्तर्गत विजय मल्लको ‘बहुलाकाजीको सपना’ समेत मञ्चन गरेका थिए । आर्थिक दूरावस्थालाई मूल विषय बनाइएको यी दुवै नाटकले नेपाली जीवनको प्रतिनिधित्व समेत गरेको छ । दुवै लोकप्रिय रचना मानिन्छन् । यी नाटकहरु बाग्मती कलेज, जेम्स कलेज, लिटिल एञ्जल्स कलेजका प्रेक्षालयहरुमा मञ्चन गरिएका हुन् ।

प्रतिक्रिया