८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन अघि मधेशी मोर्चा निर्वाचनमा जान नसक्ने

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १२:५५

काठमाडौं । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय माग्नुभएको हो । यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गर्नुभएको थियो भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए । प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सञ्चालन हुने संसद्मा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राख्नुभएको थियो ।
मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।