६ बैशाख २०८१, बिहीबार
Follow Us

आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ : राष्ट्रपति

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १३:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताउनुभएको छ । पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको मूल समारोहमा उहाँले नेपालको निर्वाचन अभ्यासलाई विश्व मानकअनुरुप बनाइनुपर्नेमा जोड दिनुभयो ।
“लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने सुरुवात् आजभन्दा ५८ वर्षअघि आजकै दिन भएको थियो, आयोगले संवैधानिक दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ, निर्वाचनलाई अझ सहज, सरल र पारदर्शी बनाइनुपर्छ, लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासबाट पाठ सिकेर निर्वाचन प्रणालीलाई समृद्ध बनाउन सकिन्छ” – उहाँले भन्नुभयो ।
दलहरुबीचको लोकप्रियता मापन गर्ने कडी भएकाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको राष्ट्रपति भण्डारीको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विधि निर्वाचन भएको बताउनुभयो ।
“आयोगका आयुक्तको पदपूर्ति गरी वैशाख मसान्तसम्म स्थानीय निर्वाचनको तयारी गर्न भनिएकाले निर्वाचनप्रति शङ्का गर्नु पर्दैन, निर्वाचनमा स्थानीय तहमा ४० र सङ्घीय प्रदेशमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ” – उहाँले भन्नुभयो ।
संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । निर्वाचनका लागि आवश्यक आर्थिक र मानवीय सहयोग आयोगलाई उपलब्ध गराउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रलाई संस्थागत गर्न संविधानले तोकेकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गराउन आयोग अहोरात्र जुटेको उल्लेख गर्नुभयो ।
सो अवसरमा राष्ट्र«पति भण्डारीले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुरेन्द्रबहादुर बस्नेत, सूर्यप्रसाद श्रेष्ठ, केशवराज राजभण्डारी, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलाई सम्मान गरियो ।
पूर्व निर्वाचन आयुक्तहरु नारायणप्रसाद राजभण्डारी, रामचन्द्र शर्मा पौडेल, प्रा डा वीरेन्द्रप्रसाद मिश्र, रमेशजङ्ग थापा, विश्वमान श्रेष्ठ, डमरुवल्लभ भट्टराई, जयरामसिंह बोहरा, दिलबहादुर कार्की, उषा नेपाल र डा रामभक्त पिबी ठाकुरलाई पनि सम्मान गरियो । आयोगमा २० वर्षभन्दा बढी अवधि सेवा गर्ने कर्मचारीलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।
विसं २०१५ फागुन ७ गते नेपालमा पहिलो संसदीय निर्वाचन भएको थियो । निर्वाचनमा नौ राजनीतिक दल सहभागी थिए । १०९ निर्वाचन क्षेत्रमा भएको चुनावमा नेपाली काँग्रेसले ७४ स्थानमा विजयी भई बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको थियो । यो सम्झनामा आयोगले प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने निर्णय गरी यस वर्ष पहिलोपटक यो दिवस मनाइएको हो ।