६ चैत्र २०८०, मंगलवार
Follow Us

संसदको गणित मलाई आउँदैन ? अमृतबाट म्याथमा डिग्री गरेको हुँ !

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १३:२९

anil-kumar-jhaअनिल झा, अध्यक्ष, नेपाल सद्भावना पार्टी

प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा हुनुहुन्छ । मधेशी मोर्चालाई पनि सहमतिमै अघि लैजाने प्रधानमन्त्री दाहालले शनिबार विहान मधेशी मोर्चाका नेताहरुसँग संयुक्त छलफल गर्नुभयो । छलफलमा दुवै पक्षले आ–आफ्नो अडान छोडेनन् । संविधान संशोधन अघि निर्वाचन सम्भव नभएको धारणा मोर्चाका नेताहरुले राखे । उक्त छलफलमा सहभागी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झासँग के कुरा भएको थियो भनी जिज्ञासा राखिएको थियो । झासँग गरिएको कुराकानी–

० तपाईंहरु निर्वाचनमा नजाने ?
– हामीले निर्वाचनमा नजाने भनेकै छैन, एक डेढ वर्षअघि जारी भएको नेपालको संविधानलाई मधेशी मोर्चाले उठाएको मुद्दा, एजेन्डा सम्बोधन गरेर मोर्चामा आबद्ध दलहरुलाई पनि सँगै लिएर जानुप-यो मात्र भनेका छौं । त्यो गर्न उहाँहरु तयार हुनुहुन्न । सरकार बनाउने बेलामा प्रचण्डजीले गर्नुभएको प्रतिबद्धता, सहमति र सम्झौतालाई बिर्सनु भएको जस्तो छ । त्यसकारण बाध्यात्मक अवस्थामा देश र मधेशलाई फेरि पनि युद्धमा धकेल्ने प्रयास यो सरकारले गरिरहेको छ । तसर्थ मोर्चासँग आन्दोलनमा जानुको विकल्प रहेन ।

० तपाईंहरुको सरकारसँग वार्ता भइरहेको छ । केही निष्कर्ष निकाल्न सक्नु भएन ?
– नास्ता, पानी र चिया खायो गफ लगायो हिड्यो । अहिलेसम्मको वार्ताको उपलब्धी त्यत्ति हो ।

० संशोधन नभइ तपाईंहरु निर्वाचनमा नजाने ?
– प्रधानमन्त्रीको पद प्रचण्ड, सुशील कोइराला, केपी ओलीले पाए । राष्ट्रपति एमालेले पायो, उपराष्ट्रपति माओवादीले पायो । सभामुख माओवादी, उपसभामुख राप्रपाले पायो । समितिको सभापति उहाँहरुले पाउनुभयो । मधेशी जनताले के पाउने ? मधेशी दलहरुको कम्तीमा माग सम्बोधन हुनुप-यो नि । संविधान दुहेर खाने होइन क्यारे, उसले आफ्नो अधिकार पाउनु प-यो नि । संविधान कागजमा लेखिएको डकुमेन्ट हो, त्यसमा संशोधन गर्न यिनीहरु मान्दैनन भने यो देशमा शान्ति, स्थरिता कसरी हुन्छ । संविधान लागू कसरी हुन्छ ?

० स्थानीय तहको निर्वाचन मिति घोषणा हुँदैछ नि ?
– स्थानीय निर्वाचनले के हुन्छ ? झगडा गराउने बाहेक यो चुनावले केही गर्दैन । यो चुनावले देशको कानुन बनाउने पनि होइन, संविधान बनाउने पनि होइन । यो चुनावले न शान्ति र समृद्धि दिन्छ । ठीक छ, एउटा तहको निर्वाचन गराउन पनि सकिन्छ, तर यो चुनावले देशलाई भिडन्ततिर लैजान्छ, निकास दिँदैन । रक्तपिपाशुको इच्छा पूरा हुन्छ, फेरि पनि यो देशमा रगत बग्छ ।

० निर्वाचन घोषणा भएपछि एमाले लचिलो हुन्छ अरे नि ?
– प्रकृयामा लचिलो हुनुपर्छ हामीले भनेका छैनौं । हाम्रा माग सम्बोधन होस् भनेका छौं । संविधान संशोधन गरेर माग सम्बोधन गर्ने हो । म पनि गणितको विद्यार्थी हुँ, प्रकृयामा त हामी पराजित हुन्छ, थाहा छ । म्याट्रिक पास नगरेकाहरु देश चलाउन जान्छन् भने म त अमृत क्याम्पसमा म्याथ पढेको हुँ । त्यसकारण प्रकृयाको अर्थ हामीलाई थाहा छ । उनीहरुको सबै कुरो सहमतिमा हुने, हाम्रो कुराका लागि प्रकृयामा जानुपर्ने ? सुशील, ओली, प्रचण्ड प्रधानमन्त्री हुँदा हामीले सहमति गर्दिनुपर्ने, हाम्रो कुरा आउँदा प्रकृयामा जाने ? यो तरिका भएन नि !

० तपाईंहरुको माग पूरा नभइ निर्वाचनको घोषणा भए के हुन्छ ?
– आन्दोलन हाम्रो बाध्यता हो । हामीसँग अर्को विकल्प छैन ।

० देश मुठभेठतिर जानेभो ?
– मुठभेट होइन, आन्दोलन गर्ने हो । हामीसँग अरु विकल्प छैन । माग सम्बोधन होला भनेर हामीले आन्दोलन रोक्यौं ।

० संविधान संशोधन विधेयक परिमार्जनसहित पास गर्ने हो भने तपाईंहरु पनि निर्वाचनमा जानुहुन्छ ?
– संविधान संशोधन विधेयक पारित भयो भने अगाडि जान हामी सहयोग गर्छौ ।

० तपाईं गणितको विद्यार्थी प्रकृयामा जाँदा विधेयक पास हुँदैन ?
– किन हुँदैन, पास गर्नुपर्छ नि । यो कुनै एसएलसीको परीक्षा होइन, विधेयक पास गराउने कुरामा कांगे्रस, एमाले माओवादी मिल्नुपर्छ । हिजो पनि मिलेको हो । हाम्रो एजेन्डामा नमिल्नुपर्ने कारण के हो ? म रोएजस्तो गर्छु, तिमी कुटेजस्तो गर्छु भनेको हो ? भोट हाम्रो लिने प्रधानमन्त्री प्रचण्डजी अनि केपी ओलीलाई भेट्न राति राति जाने ? कुरा हामीसँग काम उनीहरुसँग गर्ने ? यति पनि नबुझेको हो र ?

० समाधान के हो ?
– संविधान संशोधन गर्ने, मधेशी जनताले खाइपाइ आएको अधिकार फर्काउने । हामी पनि सँगै जाने, देशलाई शान्ति र समृद्धिको बाटोमा हिडाउने ।