११ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपमा आज निर्वाचन प्रकृया, भोलि मतदान

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार ०५:४२

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आजवाट निर्वाचन प्रक्रिया सुरु भएको छ । भोलि हुने मतदानका लागि आजदेखि प्रक्रिया सुरु भएको हो । अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने बताइएको छ । त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर राखिएको छ । बिहान १० देखि १२ बजेसम्म उम्मेद्वारका लागि मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । आज नै उम्मेदबारमाथि दाबी विरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने छ । राप्रपाको अध्यक्षमा वर्तमान पार्टी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि थापाको नाममा सहमति भएपनि पदाधिकारी मनोनयन संख्या र निर्वाचन चिन्हमा असहमति राख्दै लोहनीले पनि उम्मेदबारी दिने तयारी गरेका हुन । दुई जनाले उम्मेदवारी घोषणा गरेपनि सहमति जुटाउन प्रयास भने भैरहेको नेताहरुले बताएका छन् । परिमार्जित विधान अनुसार राप्रपाको केन्द्रिय कार्यसमिति १ सय ६३ सदस्यीय हुनेछ । शनिवार पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ । परिमार्जित विधान अनुसार कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा १ एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, १ प्रवक्ता, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । राप्रपाले राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासन हुनुपर्ने राजनीतिक धार अवलम्बन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।