६ चैत्र २०८०, मंगलवार
Follow Us

हामीसँग सहमति नभइ निर्वाचन घोषणा गरे द्वन्द्व निम्तिन्छ

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार १३:४०

rajdendra

काठमाडौं । सिराहमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहका निर्वाचनको मिति भोलि सोमबार घोषणा गर्ने बताउनुभयो । निर्वाचन मिति घोषणा गर्नका लागि प्रधानमन्त्री दाहालले शनिबार मधेशी मोर्चासँग र आइतबार सत्तारुढ दलसँग छलफल गर्नुभयो । यदि भोलि प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्नुभयो भने मधेशी मोर्चाले के गर्छ ? यिनै विषयमा संघीय समाजवादी नेपालका नेता राजेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी

राजेन्द्र श्रेष्ठ, नेता, संघीय समाजवादी नेपाल

० प्रधानमन्त्रीले भोलि निर्वाचन घोषणा गर्छ भन्नुभएको छ नि ?
– सम्भावना छैन । किनभने हामीबीच कुनै सहमति हुन सकेको छैन । हामीसँग सहमति नभइ निर्वाचनको घोषणा गर्नु भनेको देशमा द्वन्द्व निम्त्यिाउनु हो । त्यसले नेपालको साम्प्रदायिक सद्भाव भत्काएर द्वन्द्व निम्तिन्छ । त्यो काममा अहिलेको सरकारले गर्दैनजस्तो लाग्छ ।

० शनिबार प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो नि ?
– तपाईंहरुसँग सहमतिका लागि यो कुराकानी गरिएको हो । निर्वाचन घोषणा र संविधान संशोधन सँगसँगै लैजाने गरी तपाईंहरुले सहमति दिनुप¥यो भन्ने कुरा प्रधानमन्त्रीले गरे, हामीले पहिला संविधान संशोधन गर्नुहोस्, त्यसपछि मात्र हामी निर्वाचनमा जान तयार हुनसक्छौं, हामी निर्वाचनका विरोधी होइनौं, निर्वाचनका नाममा नहुने चुनावको घोषणा नगर्नुहोस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं । दोश्रो कुरा उहाँले केको चुनाव गर्नुहुन्छ ? स्थानीय तह वा निकायको भन्ने जिज्ञासामा प्रधानमन्त्रीले स्थानीय तहको भन्नुभयो । जुन स्थानीय तह राजपत्रमा प्रकाशित भएर अस्तित्वमै आएको छैन । जुन अस्तित्वमै नआएको स्थानीय चुनाव कसरी घोषणा गर्नुहुन्छ । कुन संरचना कहाँ छ भन्ने कुरा जनताले कसरी थाहा पाउँछन् । अस्तित्वमा नभएको स्थानीय तहको निर्वाचन सरकारकै लागि व्याङ्ग्य हुन्छ । गराउन होइन, कसैलाई देखाउनका निम्ति मात्र चुनावको घोषणा हुन्छ ।

० संविधान संशोधन र निर्वाचन सँगसँगै बढाउने कुरा हो ?
– संविधान संशोधन नगरी चुनाव हुनै सक्दैन । जुन संविधानमा अहिले संक्रमणकालीन धारामात्रै प्रयोग भइरहेको छ, त्यो संविधान संशोधन नगरी कसरी चुनाव सम्भव हुन्छ ? यदि उहाँहरु जर्बजस्तै अघि बढ्नुभयो भने हामी आफ्नो काम गर्छौ ।

० संशोधन र निर्वाचन सँगै अघि बढाउँदा के हुन्छ ?
– निर्वाचन र संशोधन कसरी सँगै अघि बढ्छ ? प्रधानमन्त्रीले आत्मघाती कदम चाल्नु हुन्न होला ।

० तपाईंहरुले पनि अप्ठ्यारो फुकाइदिनुहोस भन्नुभयो अरे नि ?
– हाम्रो अप्ठ्यारो फुकाउने कुरा होइन, माग पूरा गर्नुपर्छ । प्रधानमन्त्रीले माग पूरा हुन्छ भनेको पनि साढे छ महिना बितिसक्यो । आजसम्म उहाँले यो काम गर्न सक्नुभएको छैन ।

० नेपाली राजनीति किन गाँठो परिरहेछ ?
– त्यो कुरा सरकार सञ्चालकहरुले जान्नुप¥यो नि । यदि हाम्रो मागमा सहमति भयो भने कुनै गाह्रो कुरा होइन । यदि उहाँहरुले चुनाव चाहेको हो भने संघीयता कार्यान्वयनको लागि केन्द्र र प्रदेशको निर्वाचन गरौं, स्थानीय तहको निर्वाचन गरेर हुँदैन । अस्तित्वमा नआएको संरचनाको निर्वाचन गरेर हुँदैन ।

० एमालेले संविधान संशोधन हुनै दिँदैन भनिरहेको छ नि ?
– यदि त्यसो हो भने प्रकृया नै एमालेले किन रोक्नुप¥यो ? संविधान संशोधन हुनै दिन्नौं भनेर नारावाजी र सडकमा एमाले किन ? संविधान जारी गर्ने पाटीले संविधान सम्मत प्रकृयामा जान नदिएर एमाले सडकमा किन ? संवैधानिक प्रकृयाबाट हुन नदिने हो भने एमालेले त्यसको विरुद्धमा उभिएर मतदान गर्ने उहाँहरुको अधिकार हो । तर एमालेले समस्या हल गर्नका लागि सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ । यदि गरेन भने त्यसबाट देशमा उत्पन्न हुने परिणामको एमाले जिम्मेवार बन्नुपर्छ । देशमा अहिले दुईवटा खतरा छ, एउटा केपी ओलीले वकलात गरेको नश्लीय राष्ट्रवाद हो । एउटा समुदाय चाहिँ उच्च, अर्को चाहिँ नेपाली नै होइन भन्ने खालको छ । देशलाई विखण्डन गर्ने किसिमको अभिव्यक्ति ओलीको छ । अर्कोतिर सीके राउतले यो देश हामी विखण्डन गर्छौ, हामी बस्दैनौं भन्छन् । उनले नेपालको राष्ट्रिय अस्मिता नै धुजा धुजा बनाउने काम गरिरहेका छन् । यो दुई प्रवृत्तिले देश संकटमा परेको हो ।

० भएको के हो नेपाली राजनीतिमा ?
– समावेशी लोकतन्त्रमा जाने कि नजाने भन्ने कुरा नै मुख्य मुद्दा हो । परम्परागत ढंगले जाने हो भने अहिलेको संविधानमा धेरै कुरा छन् । त्यो संविधानले जाती, भाषा, धर्म, लिंग समुदाय समेटेन । सबैलाई समेटिएको केन्द्रमा साझा शासन, प्रदेशमा स्वशासन भएको संघीय व्यवस्था ल्याउने र जनतालाई समावेशी ढंगले अघि बढाउनका लागि हामीले नयाँ संविधान निर्माण गरेका हौं । समावेशी लोकतन्त्रका आधारमा भन्ने हो भने अहिलेको संविधान पूर्ण छैन । वास्तवमा यो संविधान विभेदकारी छ । भन्नलाई संघीयता भन्ने, एकात्मक ढंगले काम गर्ने मनोवृत्ति नै नेपालको राजनीतिक समस्याको मुख्य जड हो ।

० निर्वाचन घोषणा भइहाल्यो भने तपाईंहरु के गर्नुहुन्छ ?
– बैठक बस्छौं, त्यसको परिणाम भनेको नयाँ शिराबाट आन्दोलन सुरु हुन्छ । हाम्रा माग सम्बोधन भयो भने मात्र हामी चुनावमा जान्छौं ।