१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुटवलमा नेपथ्य

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार ०९:४८

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यको अबको यात्रा बुटवलतर्फ हुनेभएको छ । फागुन १४ गते शनिबार त्यहाँस्थित कालिका माध्यमिक विद्यालयको खुला प्राङ्गणमा टोलीले कन्सर्ट प्रस्तुत गर्दैछ । आजको समृद्ध र विस्तारित सहर बुटवल कुनै समयको ‘बटौली’ हो । पहाडबाट औल झरेकाहरुको सम्झनामा रहेको चुरेको फेद बटौली र त्यसका यादहरु अहिले पनि लोकगीतहरुमा भेटिन्छ । जस्तो कि नेपथ्यकै एउटा गीतले भन्छ,

‘यानीमाया, बटौलीको बजारमा, यानी माया
यानीमाया, चुरेटाको दोकान, यानीमाया’

यो यात्री गीतले जसरी आफूलाई ‘उहिले उहिले’ भनेर सुरुगर्छ त्यसैगरि यसमा पुराना यादहरु बगेका छन् । र, यस्तै सम्झनाहरु नयाँ पुस्तालाई बाँड्दै आएको छ नेपथ्य ।
‘बटौली मात्र होइन, हामी आजको बुटवलसँग पनि जोडिँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यो कन्सर्ट आयोजना हुने कालिका माध्यमिक विद्यालयसँगका हाम्रा आफ्नै खाले सम्झना छन् ।’
जतिबेला मुलुक द्वन्द्वमा डुबेको थियो त्यतिबेला जताततैको खतरालाई चिर्दै साँगीतिक अभियान ‘सुन्दर शान्त नेपाल’ चलेको थियो । त्यसै अभियानको एउटा महत्वपूर्ण हिस्सा थियो नेपथ्य ।
‘सन् २००३ मा त्यो यात्राको बेला हामीले यसै प्राङ्गणबाट शान्तिको कामना गर्दै गीत गाएका थियौं,’ अमृत भन्छन्, ‘त्यो सांगीतिक यात्राबाट लाभान्वित त्यही विद्यालय सानो भवनबाट आज धेरै विद्यार्थी अट्नेगरि धेरै गुणा फराकिलो बन्न पुगेको छ ।’
तीन हजारभन्दा बढी विद्यार्थी पढ्ने यो विद्यालय सामुदायिक भइकन पनि स्थानीय विद्यार्थी र अभिभावकहरुको छनौटमा प्राथमिकतामा पर्न थालेको छ । ‘द्वन्द्वपछिको शान्तिले ल्याएको समृद्धिका क्रममा कालिका स्कुल र सिँगो बुटवलले फेरेको चोला देख्दा मन रमाउँछ,’ अमृत भन्छन्, ‘त्यसैले बुटवलमा आफूलाई प्रस्तुत गर्न नेपथ्य लालायित छ ।’
‘सुन्दर शान्त नेपाल’ बाहेक नेपथ्यको एकल प्रस्तुती ‘शान्तिको लागि शिक्षा’ समेत गरेर यो ब्याण्डले बुटवलमा आफूलाई यसअघि पटक पटक प्रस्तुत गरिसकेको छ ।
‘द्वन्द्वको समयमा शान्ति र विद्यालयलाई हिंसामुक्त बनाउने आवाज बोकेर आफूलाई प्रस्तुत गरेका थियौं,’ अमृत थप्छन्, ‘अब चाहिँ त्यही मञ्चमा नेपथ्यले आफूलाई व्यावसायिक हिसाबबाट उभ्याउँदैछ ।’
शनिबार बुटवलमा हुने कन्सर्टको नारा चाहिँ ‘एकताको लागि संगीत’ रहेको छ । अंग्रेजीमा यसलाई ‘नेपथ्य म्यूजिक फर युनिटी–लाइभ इन बुटवल’ भनिएको छ । ‘एस नेपाल’ नामक संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफाको रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने जानकारी आयोजक सन्तोष टण्डनले दिएका छन् ।
‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एकरुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि भर्खरै राजधानीको टुँडिखेलमा आयोजना गर्दा परिचालित प्राविधिक टोलीलाई नै बुटवलको पनि प्राविधिक र निर्माण पक्ष सुम्पेका छौं ।’
कन्सर्टमा नेपथ्यले सँधै झै उसका पुराना साथै नयाँ गीतहरु पनि बुटवलका श्रोताहरुलाई सुनाउने छ ।
सँधैझैँ बुटवलको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिने छन् ।