१९ बैशाख २०८१, बुधबार
Follow Us

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार १०:१५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्ष पदमा कमल थापा र प्रदीपविक्रम राणा दुई जनाको उम्मेदवारी परेकाले शुरुमा अध्यक्ष र त्यसपछि सदस्य पदमा निर्वाचन गराउने तयारी निर्वाचन समितिको छ । विहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म निर्वाचन गर्ने कार्यतालिका भएपनि अहिलेसम्म मतदान प्रक्रिया भने शुरु भएको छैन । निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ । आजै साँझसम्म परिणाम आउने गरी तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई र केन्द्रिय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष सहित ९८ केन्द्रिय सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । राप्रपाको नयाँ विधान अनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत पदमा निर्वाचन हुनेछ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । परिमार्जित विधान अनुसार कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा एक अध्यक्ष, ५ उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, १ प्रवक्ता, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ ।