१५ चैत्र २०८०, बिहीबार
Follow Us

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार ०२:२६

काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभयो । प्रवक्ता कार्कीले भन्नुभयो, “मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।

मोर्चा निर्वाचनको विपक्षमा
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विमति जनाएको छ । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रिया अघि नबढाई सरकारले एक्कासी निर्वाचन घोषणा गरेको भन्दै विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
मोर्चाले एक विज्ञप्तिमार्फत मङ्गलबारदेखि चरणबद्ध विरोधका कार्यक्रम तय गरेको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँले हालकै अवस्थामा मोर्चा निर्वाचनको पक्षमा नरहेको भन्दै संशोधन प्रक्रिया अघि नबढेसम्म सङ्घर्ष जारी रहने बताउनुभयो ।