६ चैत्र २०८०, मंगलवार
Follow Us

निर्वाचनमा सर्वदलीय सहमति, संशोधन प्रक्रियामा जाने

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार १४:१६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन गराउने विषयमा आम सहमति जुटेको छ भने संविधान संशोधन प्रक्रिया छलफलमा लान विपक्षी दल लचक देखिएका छन् । बैठकको अन्तिम समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जानकारी दिएर अनुपस्थित भए पनि उपस्थित सबै दलले आगामी वैशाख ३१ निर्वाचन घोषणा भएकामा स्वागत गरेका छन् ।
मोर्चाले सीमाङ्कनसहितको संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिएकाले कसरी सबै पक्षलाई सहमतिमा ल्याउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । यस्तै स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा पनि प्रधानमन्त्रीले दलको राय माग्नुभएको थियो ।
बैठकपछि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले निर्वाचनका विषयमा आम सहमति भएको र मधेसी दलका मुद्दा सम्बोधनका लागि संविधान संशोधनलाई छलफलको प्रक्रियामा लगिने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो वातावरणमा छलफल भएको छ, सम्भवतः संशोधनलाई छलफलमा लाने प्रक्रियामा हामी जान्छौँ ।”
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि मतदान गर्ने दिनसम्ममा प्रतिपक्षी नेकपा (एमाले)ले पनि संशोधनका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन राष्ट्रहितका विषयमा नभएको भन्ने आफूहरुको अडान कायमै रहेको तर यसलाई प्रक्रियामा लाने वा के गर्ने भन्ने बारेमा सत्तारूढ दलले निक्र्यौल गर्नुपर्ने बताउनुभयो ।
संशोधन प्रस्ताव पारित नभएको अवस्थामा मधेसी मोर्चा निर्वाचनमा नआउने भएमा के गर्ने भन्ने प्रश्न बैठकमा उठेको बुझिएको छ । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनले दिएको सुझावलाई परिमार्जन गर्न नहुने उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनलाई सफल तुल्याउन सबै लाग्नुपर्ने भन्दै संविधान संशोधनलाई यथास्थितिमा पारित गराउन नहुने धारणा राखेको जानकारी दिनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन विधेयक दर्ता गर्ने समयमा आफूहरुसँग छलफल नगरेका कारण समस्या आएको तर्क राख्ने मधेसी मोर्चा निर्वाचनमा आउनुपर्ने भनाइ राख्नुभयो ।