७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ भोलि

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार १४:१५

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । सो रिट माथिको सुनुवाइ भोलि पनि जारी रहने छ । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत पाँच जनाविरुद्ध गत माघ २८ गते र फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहनुभएका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएपछि सर्वोच्चले चन्दको पदबहाली रोक्ने अन्तरिमकालीन आदेश जारी गरेको थियो ।
मन्त्रिपरिषद्को फागुन १ गतेको बैठकले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा आज सोसम्बन्धी बहसमा सिलवालका पक्षमा सात जना अधिवक्ताले वकालत गर्नुभएको थियो । चन्दका पक्षका अधिवक्ताले आज वकालतका लागि समय अपुग भएपछि सो रिट भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
मन्त्रिपरिषद्को बैठकले चन्दलाई महानिरीक्षमा नियुक्त गर्ने निर्णय गरेकै दिन दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने-गराउनेलगायत कुनै पनि कार्य नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
यसअघि फागुन ८ गतेका लागि बहस तोकिएकामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयले आफूहरुलाई जानकारी नभएको जनाएपछि आजका लागि पेसी सरेको थियो ।