१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार ०६:३५

महेन्द्रनगर । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ । धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए ।
प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिनुभयो । को २५ प ६१३९ नंको मोटरसाइकलमा सवार भई फरार हुन खोजेका दुवैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।
प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुवैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभएको छ । जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सञ्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पु-याएका थिए ।