१५ चैत्र २०८०, बिहीबार
Follow Us

मानवअधिकार सम्बन्धी फोटो प्रदर्शनी

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार १३:२७

भक्तपुर । मानवअधिकार उल्लंघनका घटनाबारे जानकारी दिने उद्देश्यले ग्रामीण क्लब हाउस नेपालले भक्तपुरको सल्लाघारीमा एक दिने चित्रकला प्रदर्शनी आयोजना गरेको छ । नेपाली कांगे्रसका युवा नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले प्रदर्शनीको उद्घाटन गर्दै विश्वव्यापी रुपमा मानवअधिकार उल्लंघनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले नेपालमा पनि विभिन्न तबरबाट मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको र कतिपय घटनामा राजनीतिक संरक्षण समेत पाएको चर्चा गर्दै यसलाई रोक्न आम नागरिक सचेत हुनुपर्ने औंल्याए ।
कार्यक्रममा आयोजक क्लब हाउसका अध्यक्ष मुकुन्द सुवेदीले उत्तर कोरियामा भइरहेको मानवता र लोकतन्त्र विरोधी क्रियाकलापबारे नेपाली नागरिकलाई स्थानीय स्तरमै जानकारी दिँदै सचेत गराउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको बताए ।
प्रदर्शनीमा अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्ध उत्तर कोरिया सरकारले आम नागरिकदेखि कैदी समेतलाई गरेको दमन, हिंसा, मृत्युदण्डलगायतका घटना समावेश भएको ४२ थान चित्र एवम् कार्टुन प्रदर्शनीमा राखिएको थियो ।
चित्रका माध्यमबाट उत्तरकोरियामा भइरहेको अन्तर्राष्ट्रिय युद्ध अपराधबारे सचेत गराउन र उत्तरकोरियाको युद्ध अपराधविरुद्ध नेपालीको ऐक्यबद्धता सिर्जन ागर्न चित्रकला प्रदर्शनी प्रभावकारी हुने उनको भनाइ थियो ।
प्रदर्शनी यसअघि उपत्यकाको लगनखेल, पाटनढोका, सुन्धारा, महाराजगन्ज, नयाँ बानेश्वरलगायत पाँच स्थानमा सम्पन्न भइसकेको छ । यसलाई देशका विभिन्न ठाउँमा लगेर प्रदर्शनी गरिने अधयक्ष सुवेदीले बताए ।