१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार ११:५८

काठमाडौं । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ ।
सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उहाँका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिनुभयो ।
सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनएका उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापासमेतको सहभागिता थियो ।
त्यस्तै उद्योगमन्त्री जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोबीच टोकियोमा भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो । जापानी नेताहरुले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा थप सहयोग गर्ने प्रतिबद्घतासमेत व्यक्त गरेका थिए । जापान सरकारको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा जापानमा रहनुभएका उद्योगमन्त्री जोशी शनिबार राति स्वदेश फर्कनुहुनेछ ।