१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : नेता नेपाल

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार १३:४७

फलेवास । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको छ । जिल्लाको मुडिकुवा गाविसमा आज आयोजित बृहद् जनसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधन प्रस्ताव नेपालीको हितमा नभएको बताउनुभयो । प्रधानमन्त्रीले उक्त प्रस्ताव तत्काल फिर्ता लिँदा वा त्यत्तिकै थन्क्याउँदा उत्तम हुने उहाँको भनाइ थियो ।
“संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन,” नेपालले भन्नुभयो । संशोधन प्रस्तावको विपक्षमा एमालेसहितका आठ दल र राप्रपा तथा लोकतान्त्रिक मधेसी मोर्चा उभिएको उहाँले बताउनुभयो । “संंशोधन प्रस्ताव मधेसी समुदायको माग होइन,” नेता नेपालले भन्नुभयो । अहिलेको आवश्यकता तीनवटै तहको निर्वाचन भएको र यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
निर्वाचन आयोगले निर्वाचनको तयारी गरिसकेको र मुलुक निर्वाचनतर्फ अग्रसर भइसकेकाले अब कुनै पनि अवस्थामा पछाडि हट्न नहुने नेपालले बताउनुभयो । उहाँले न्यूनतम तीन प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने माग अघि सारेको बताउँदै सम्भवतः आगामी निर्वाचनदेखि सोही कार्यान्वयन हुने बताउनुभयो ।
नेकपा (एमाले)ले सुरु गर्न थालेको मेची महाकाली अभियानलाई साथ दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका पुराना कार्यकर्ता तथा वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । नेता नेपालले आजैै डिमुवामा होसो नेपालद्वारा सञ्चालित दुई दिन स्वास्थ्य शिविरको समेत उद्घाटन गर्नुभयो ।