१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्धारित समयमै स्थानीय तहको निर्वाचन : सभापति देउवा

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार १३:४९

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले आज बुटवलमा बिपी स्मृति भवनको उद्घाटन तथा बिपी स्मृति स्मारिका विमोचन गर्दै अब कुनै पनि कारणले निर्वाचन नरोकिने भन्दै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सभापति देउवाले काँग्रेस मात्रै सबैलाई मिलाएर अगाडि बढ्न सक्ने पार्टी भएको दाबी गर्नुभयो । डर, त्रास भयमुक्त समाज निर्माण गर्न र जनतालाई अधिकार सम्पन्न गराउन काँगे्रस लागिपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा काँगे्रस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँणले सबैका माग सम्बोधन गरेर भए पनि समयमा निर्वाचन हुने र त्यसका लागि सबै नेता कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सम्भावना र चुनौतीका बीचमा मुलुक रहेको र संविधानको स्वीकार्ययता बढाउँदै मुलुकको विकासमा लाग्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा काँग्रेस नेताहरु भरतकुमार शाह, अब्दुल रज्जाक, राजु खनाल, युवराज गिरी, हरि लम्साल, खेलराज पाण्डे, बुटवल उपमहानगरपालिकाका भुवाप्रसाद लुइँटेल, शिक्षक सङ्घका केशव निरौलालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।