४ बैशाख २०८१, मंगलवार
Follow Us

नेताप्रेमी बन्न सकिन, पराजित भएँ

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७३, सोमबार १३:१५

विन्दा गिरी, नेतृ राप्रपा

भर्खरै सम्पन्न राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित विन्दा गिरी एकताअघि राप्रपा नेपालको सिन्धुली जिल्ला अध्यक्ष थिइन् । सिन्धुलीमा मात्र होइन, राप्रपा नेपालको संगठन विस्तारमा उनी पूर्व मेचीदेखि महाकालीसम्म खटिइन्, तर केन्द्रीय नेतृत्वमा पुग्न भने असफल भइन । विन्दा भन्छिन्, ‘जनताको शक्तिमा विश्वास राखे, नेताको चाकरीमा लागिनँ पराजित भएँ ।’ पार्टी एजेन्डालाई सिस्टममा डो¥याउन सके लक्ष्य एकदिन अवश्य भेटिने उनको भनाइ छ । यिनी विषयमा विन्दासँग कुमार राउतले गरेको कुराकानी :
० कमल थापा भन्दै सक्रिय हुनुहुन्थ्यो, एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुभयो ?
– म व्यक्तिको पछाडि लागेकी छैन, राप्रपा नेपालले आत्मसात गरेको सिद्धान्त र आदर्शको पछाडि लागेर जिल्ला तहमा सक्रिय भएकी हुँ । प्रजातान्त्रिक प्रक्रियामा जितहारलाई मैले स्वाभाविक रूपमा लिएकी छु । पार्टीको नीति सिद्धान्तले जितेको छ, त्यसैले केन्द्रीय सदस्यमा म पराजित भए पनि पार्टीको साधारण सदस्य हुनुमै मलाई गर्व छ ।

० कुन नीति सिद्धान्तले जित्यो ?
– संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य र प्रजातन्त्र हाम्रो पार्टीको मूल आदर्श हो । बीचमा पार्टी बे्रक भएर केही अग्रजहरू गणतन्त्रवादी भएका छन्, उनीहरू पनि मूलधारामा आएर समाहित भएका छन् ।

० ग्रामीण तहदेखि संगठन गरेर जिल्ला अध्यक्ष बने पनि केन्द्रीय सदस्यमा पराजित हुँदा दुःख लागेन ?
– पदका लागि मैले राजनीति गरेको होइन, संगठनलाई एउटा सिस्टममा ढाल्न सकियो, त्यो खुसीको कुरो हो । सिस्टममा पार्टी हिँड्न थालेपछि अधिवेशन फेरि पनि होला, त्यहाँ प्रतिस्पर्धा गरौंला ।

० महिलाका लागि झन्डै चार दर्जन पद थियो, त्यसमा पनि निर्वाचित हुनुभएन ?
– खुलातर्फ १६ जनाको मात्र सिट हो, मैले २०औं नम्बरमा मत ल्याएँ । महिलाका अन्य पद भनेका आदिवासी, जनजाति, मधेस, मुस्लिमलगायतका आरक्षण कोटा हुन् ।

० अब जिल्लातिरै फिर्ता ?
– काम गर्न पद नै चाहिन्छ भन्ने मान्यता म राख्दिनँ । सिन्धुली जिल्ला अध्यक्ष आठ वर्ष चलाएँ, त्यहाँको ५० गाविस र दुईवटा नगरपालिकाको प्रत्येक वडाका कार्यकर्तासँग म भिजेको छु । मेरो माया, सद्भाव त्यहीँ छ, म त्यहीँ रमाउँछु ।

० बसोबास कहाँ हो ?
– म अहिले चितवन बसोबास गर्छु, सिन्धुली मेरो माइती हो । हामी गोरखाबाट माइगे्रट भएर चितवन आएका हौं । चितवनका साथीहरू पनि मेरो स्वागतमा लालायित हुनुहुन्छ ।

० अब पार्टी कसरी अघि बढ्छ ?
– राप्रपालाई हामी पहिलो पाटी बनाउने अभियानमा छौं । एउटै विचार, एउटै एजेन्डा लिएर राप्रपा राष्ट्रिय राजनीतिमा होमिएको छ । कार्यकर्ताको भावना एउटै भएको छ । यो माटो र धर्तीलाई सुुहाउँदो राप्रपा अब पहिलो पार्टी बन्ने अभियानमा अघि बढेको छ ।

० हलो चुनाव चिह्न गाईमा विलय भएको हो ?
– विलय भएको होइन, उहाँहरूले चुनाव चिह्न हलो हुनुपर्छ भन्न छाड्नु भएको छैन । अहिले एउटै राप्रपा भए पनि हलो चिह्नमा पाका र अनुभवी नेताज्यूहरू हुनुहुन्छ । जितहारभन्दा पनि उहाँहरूलाई सम्मान गर्दै, उहाँहरूको अनुभवलाई आत्मसात गर्दै अघि बढ्दा राम्रो हुन्छ ।

० हलो चिह्नका राप्रपामा बूढापाका मात्र थिए होइन ?
– आफूले हुर्काएको पार्टीको सबैलाई माया हुन्छ, तर ०६३ सालपछि उहाँहरू गणतन्त्रको लाइनमा जानुभयो । वास्तवमा पार्टी स्थापना हुँदा उहाँहरूको एजेन्डा गणतन्त्र थिएन । अहिले उहाँहरू पुनः पुरानै लाइनमा फर्किनु भएको छ । उहाँहरूको दुखेसोलाई सम्मान गर्दै पार्टीले उचित निर्णय लिन सक्छ ।

० वरिष्ठ नेतालाई सेरेमोनियल पद ?
– सेरेमोनियल पद भए पनि उहाँहरूलाई पार्टीले ससम्मान जिम्मेवारी पनि दिन्छ होला । किनभने उहाँहरूको अनुभवलाई क्यास गरेर अघि बढ्दा बुद्धिमानी हुन्छ ।

० कमल थापासँग वरिष्ठ नेताहरूलाई आफ्नो पछाडि लैजान सक्ने क्षमता रहेछ हैन ?
– यो एकीकरणलाई त्यसरी बुझ्नु गलत हुनेछ । शीर्ष नेतृत्व एजेन्डामा सहमत भएका हुन् । कार्यकर्ताको भावना पनि राप्रपा फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने थियो ।

० कार्यसमितिमा नयाँ आए, तपाईंहरू पछि पर्नुभयो नि ?
– कसैले चेलिबेटीका नाममा भोट ल्याए, कलाकारहरूको फ्यानले गर्दा कार्यसमितिमा पुगे । तर उनीहरूसँग संगठन गर्ने क्षमता होला जस्तो मलाई लाग्दैन । पार्टीले पनि तिनीहरूको क्षमता विचार गरेर मात्र जिम्मेवारी दिनुपर्छ ।

० टप थ्रीमै चुनाव जिते नि ?
– हो जिते, त्यो कुरा मैले स्वीकार गरिसकें । राजनीतिमा संकुचित भावना लिनु हुँदैन । तर खुसीको कुरा पार्टी सिस्टममा हिँड्न थालेको छ । सिस्टममा हिँडेको पार्टीमा ढिलोचाँडो नेतृत्वमा पुगिन्छ, त्यसका लागि जनताको साथ चाहिन्छ । म जनतामा विश्वास गर्ने भएकाले यसपटकको पराजयले मलाई किंचित दुःखी बनाएको छैन ।

० पराजयको विश्लेषण गर्नुभयो होला नि ?
– जनपे्रमी भएँ, नेतापे्रमी हुन सकिनँ । नेताको चाकडी चाप्लुसी गरेको भए अथवा नेताको छत्रछायाँमा परेको भए चुनाव जित्न कठिन थिएन । तर मैले त्यसो गरिनँ । जित्नेलाई शुभकामना, म कार्यकर्तामाझमै रमाउँछु ।

० राजनीति गरेर जीविका चल्छ ?
– राजनीतिको पूर्णकालीन कार्यकर्ता हुँ, अरु पेसा अंगालेको छैन । श्रीमान् बैंकको जागिरे हुनुहुन्छ । लाउने खाने, घर खर्च र छोराको पढाइ श्रीमान्ले दिनुहुन्छ ।

० उपल्लो पोस्टमै हुनुहुन्छ ?
– श्रीमान् हरिप्रसाद लामिछाने एउटा निजी बैंकको अधिकृतस्तरमा हुनुहुन्छ । उहाँको उपत्यकाबाहिर पोस्टिङ भएको छ ।

० श्रीमान्सँग पहिलो भेट कहाँ भयो ?
– पढाइको सिलसिलामा हाम्रो भेट भएको हो । एउटा साथीको रूपमा हाम्रो चिनजान भएको थियो, पछि दाम्पत्य जीवनमा बाँधियौं, हाम्रो एउटा छोरा काठमाडौंमै स्कुलमा अध्ययन गर्दैछ ।

० पे्रमका सम्झनायोग्य दिन ?
– हामीसँग त्यस्तो लभस्टोरी छैन, साथी मात्र थियौं, पछि विवाहको प्रस्ताव राख्नुभयो, मैले ओके भने ।

० तपाईंले राजनीति गरेको मन पराउनु हुन्छ ?
– उहाँलगायत घर, माइती सबैको पे्ररणा नभई राजनीति सम्भव हुँदैन । विशेषतः मेरो राजनीतिक जीवन उहाँको इच्छा पनि हो ।

० महिलालाई राजनीतिमा कत्तिको सजिलो हुँदो रहेछ ?
– महिला भन्दैमा परिवारसँग गाँजिएर बस्नुपर्ने, परिवारसँग टाँसिएर बस्नुपर्ने मान्यता छ । मैले आफूलाई कहिल्यै महिला ठानिनँ । हाम्रो समाजमा महिलालाई दयाको पात्र बनाइन्छ, आरक्षण छुटाइन्छ । महिला पनि समान हकको दाबेदार हुन् ।