१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार ०७:४६

टोक्यो । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्कनु भएको छ ।
सम्राट आकिहितो तथा साम्राज्ञी मिचिको टोक्योको हानेदा विमानस्थलबाट आज बिहान उक्त दुबै मुलुकका लागि प्रस्थान गर्नु भएको र उहाँहरु पहिले भियतनामको राजधानी हानोई पुग्नु हुनेछ ।
हाल जापान र भियतनामबीच दौत्य सम्बन्ध राम्ररी फस्टाउँदै गै रहेको र यस अवस्थामा जापानी सम्राट दम्पतिको भ्रमणले थप सौहाद्र्रता दिलाउने विश्वास गरिएको छ ।
केही बर्ष यता धेरै जापानी कम्पनी र लगानीकर्ताहरुले भियतनाममा उद्योग कल, कारखाना स्थापना गरी सरसामान उत्पादनमा बृहत लगानी गर्दिै आएका छन् । त्यस्तै, जापानमा ब्यावसायिक र उच्च शिक्षा हासील गर्ने विदेशी विद्यार्थी सङ्ख्यामध्ये भियतनामी विद्यार्थीहरुले ठूलो अंश ओगटेका छन् ।
भियतनाम भ्रमणको क्रममा सम्राट दम्पतिले दोश्रो विश्वयुद्धताका रणभूमिमा ज्यान गुमाएका जापानी सेनाका जीवित बिधवा पत्नी तथा उनीहरुका छोरा, छोरी, नाति नातिनालाई भेटघाट गर्नु हुनेछ ।
दोश्रो विश्वयुद्धको समाप्तिपछि जापानी सेनाका यी परिवार भियतनाम मै बसोबास गर्दै आइ रहेका छन् । दोश्रो विश्वयुद्धको अन्त्य भएको केही बर्ष पश्चात् भियतनाममा शुरु भएको आन्तरिक राजनीतिक गडबडी र द्वन्दले मुलुकको उत्तरी खण्ड सन् १९५४ मा बामपन्थीहरुको नियन्त्रणमा रहन गयो ।
उत्तर भियतनामलाई नियन्त्रणमा लिने बामपन्थी सरकारले त्यहाँ रहेका जापानी सेना तथा परिवारलाई या त जापान फर्क या त मुलुक छोड भन्ने दबाब दिन थाले ।
बामपन्थी सरकारको दबाबमा परी सबै जापानी सेना र परिवार दक्षिणतिर बसाइ सरे, परिवारसहित बस्दै आएको भियतनामलाई त्याग्न उनीहरुको मन मानेन । यस प्रकार थुप्रै सङ्ख्यामा जापानीहरु भियतनाममा बसोबास गर्दै आइ रहेका छन् ।
भ्रमणको दोश्रो चरणमा सम्राट दम्पति थाईल्याण्डको राजधानी बैंकक पुग्नु हुनेछ । त्यहाँ उहाँहरुले थाईल्याण्डका स्वर्गीय सम्राट भूमिबल अदुल्यादेजलाई हार्दिक श्रद्धान्जली अर्पण गर्नु हुनेछ । थाईल्याण्डका सम्राट अदुल्यादेज गत बर्षको अक्टोबर महिनामा स्वर्गारोहण हुनु भएको थियो ।
आफू र सामाज्ञी मिचिकोले थाईल्याण्डका सम्राट अदुल्यादेजसँग विगतका पचास बर्ष भन्दा बढीसम्म सुमधुर र घनिष्ठ सम्बन्धको आनन्द लिएको जापानी सम्राट आकिहितोले बताउनु भयो ।