१५ चैत्र २०८०, बिहीबार
Follow Us

महासङ्घ काठमाडौंको निर्वाचनका लागि परिचालन समिति गठन

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार ०८:०१

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँले आसन्न नेपाल पत्रकार महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत १ गते हुने काठमाडौँ महासङ्घको निर्वाचनका लागि युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । सदस्यमा युनियन काठमाडौँ शाखाका सल्लाहकार, अध्यक्ष, पदाधिकारी, पत्रकार महासङ्घ काठमाडौँका पदाधिकारी, उपत्यका समिति सदस्य सचिव, युनियन केन्द्रीय समितिमा रहेका काठमाडौँ शाखाका सदस्य छन् ।
बैठकले शाखाका सल्लाहकारमा शाखाका पूर्वअध्यक्ष गोकर्ण अर्याल, शिव लम्साल र लीलाराज खनाललाई थप गर्ने निर्णय गरेको छ । यसैगरी पत्रकार महासङ्घको युनियनतर्फको उम्मेदवारका लागि शाखाका अध्यक्ष अर्यालको संयोजकत्वमा उपाध्यक्ष देवी सापकोटा, सचिव महेश्वर गौतम, सहसचिव खगेन्द्र भण्डारी र कोषाध्यक्ष भागवत भट्टराई सदस्य रहेको समिति गठन गरेको छ ।
यस्तै महासङ्घको चुनाव प्रचारप्रसार समितिमा शाखाका सचिव गौतमको संयोजकत्वमा सदस्य अच्युत रेग्मी, पुष्पा शर्मा, लक्ष्मी सापकोटा, अक्कल कुँवर, अर्जुन अधिकारी, सुमन सापकोटा र सुदीप रेग्मी सदस्य रहेको समिति गठन गरेको छ । बैठकले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गर्ने, नयाँ सदस्यता वितरण तथा नवीकरणलाई तीव्रता दिने र युनियनको इतिहास समेट्ने गरी स्मारिका निकाल्ने निर्णय पनि गरेको छ ।