७ बैशाख २०८१, शुक्रबार
Follow Us

ठुला भनिएका क्याम्पसमा भने निर्वाचन हुन सकेन

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७३, बुधबार ११:३८

काठामाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भईरहेको छ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा आज निर्वाचन भई रहेको केन्द्रिय निर्वाचन समितिले जानकारी दिएको हो । काठमाडौं उपत्यकाका सानोठिमी, भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ क्याम्पसमा निर्वाचन भइरहेको छ । त्यस्तै जनप्रशासन क्याम्पस, आइओएम, नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा पनि चुनाव भइरहेको छ । विद्यार्थी संगठनको आपसी विवाद र आन्दोलनका कारण आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन काठमाडौंसहित देशभरका धेरैजसो ठुला क्याम्पसहरुमा भने स्थगित भएको छ । राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायतका क्याम्पसमा निर्वाचन हुन नसकेको हो । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धन प्राप्त एक हजार ८४ क्याम्पस रहेका छन् । जसमध्ये मनोनयन दर्ता भएका ४० प्रतिशत क्याम्पसमा स्ववियु निर्वाचन भईरहेको छ ।

जिल्ला स्ववियू
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको विषयलाई लिएर धादिङको जयबागेश्वरी बहुमुखी क्याम्पसमा दुई समुहबीच विच झडप हुँदा ३ जना घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । रुपन्देहीमा २० वटा क्याम्पस रहेको मध्ये सम्बन्धन प्राप्त १२ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया शुरु भएको थियो । तर, ४ वटा क्याम्पसमा मात्रै निर्वाचन भएको छ । विभिन्न समुहले गरेको तालाबन्दीका कारण ७ वटा क्याम्पसमा निर्वाचन हुन सकेन । पश्चिम नेपालकै ठुलो बुटवल बहुमुखि क्याम्पसमा उम्मेद्धाराको मनोनयन भएर समेत निर्वाचन हुन सकेन । रुपन्देहीको देवदह आर्दश बहुमुखि क्याम्पस, यज्ञदय बहुमुखि क्याम्पस फर्साटिकर, हरैया बहुमुखि क्याम्पस रुद्रपुर, गिवार्ण संस्कृत क्याम्पस मणिग्राम गरि ४ वटा क्याम्पसमा मात्र स्वीयुको निर्वाचन भएको छ । त्यसैगरि सुनसरीमा चार वटा क्याम्पसमा शान्ति पुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । इटहरी क्याम्पसमा अखिल क्रान्तीकारीले फर्र्जी मतदान गराउन खोजेको भन्दै विवाद भएपछि निर्वाचन रोकीएको छ । प्यूठानमा भने कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेन । चुनावी वातावरण नबनेपछि सदरमुकाम खलंगामास्थित प्यूठान क्याम्पसका प्रमुख सहित प्राध्यापकहरुले राजिनामा गरेका छन् । त्यसैगरि गुल्मी जिल्लामा रहेका १० सामुदायिक र १ आंगिक क्याम्पस मध्ये ३ क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लाकैै ठुलो रेसुंगा बहुमुखी क्याम्पस, बलेटक्सारको श्रृङ्गेश्वर र धुर्कोट बस्तुको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुले आआफ्ना पक्षका विद्यार्थी नेताहरुलाई मतदान गरेका छन् । तुराङ स्थीत मजुवा मानका टिकाराम बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित गरिएको छ । अछाममा बिद्यार्थी संगठनहरु बिचको बिबादका कारण कतिपय क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि चुनाव अनिश्चित बनेको छ ।

त्रिवि निर्वाचन संयोजक
त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा. सुधा त्रिपाठीले आज निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन । भक्तपुरमा अयोजित कार्यक्रममा निर्वाचन समिति संयोजक डा. त्रिपाठीले आज देशभरी निर्वाचन भएको जानकारी गराउँदै स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने बताइन ।
उनले उपत्यकाका ७ र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भइरहेको जानकारी दिएकी छन ।