६ बैशाख २०८१, बिहीबार
Follow Us

सन्तानले बाबुआमाका लागि आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने कानुन आउँदै

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७३, बुधबार १३:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । मनमोहन प्रतिष्ठानले आज राष्ट्र«पति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताउनुभयो ।
“सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ”– उहाँले भन्नुभयो ।
सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गर्ने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले वृद्धावस्था मनमा उज्यालो बाली सबैलाई उज्यालो बाँड्ने समय भएको विचार व्यक्त गर्नुभयो । “वृद्धले जीवनभर गरेका अनुभवबाट हामीले शिक्षा लिनुपर्छ, ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ भनेजस्तै”– उहाँले भन्नुभयो ।
संस्कृतिविद् सत्यमोहन जोशीले बुढेसकालमा दुःख नपाउनु नै रामराज्य भएकाले बुढापाकालाई राज्यले नै सम्मान दिनुपर्नेमा जोड दिनुभयो । इतिहासविद् ज्ञानमणि नेपालले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वैदिक परम्परा भएकाले त्यसको अनुशरण गरिनुपर्ने बताउनुभयो । फागुन ११ गतेदेखि १७ गतेसम्म १२९ जना ज्येष्ठ नागरिकलाई प्रतिष्ठानले देशका विभिन्न भाग भ्रमण गराइएको सो अवसरमा जानकारी गराइयो ।