१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार ११:५५

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि यहाँ सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उहाँले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताउनुभयो । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताउनुभयो ।
नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताउनुभयो ।
“शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “ हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौँ ।”
लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
उहाँले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ भन्नुभयो । सम्मेलनमा भारत, चीन, (हङ्कङ समेत), बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।