१५ चैत्र २०८०, बिहीबार
Follow Us

डायस्पोरा भएपछि मेरो नियुक्ति रोकियो : ढकाल

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार १४:१७

काठमाडौं । नेपालमा खुला विश्वविद्यालयका परिकल्पनाकार प्रमोद ढकालको गैरआवासीय नेपाली भएकै कारण नियुक्ति रोकियो । संसदबाट खुला विश्वविद्यालय ऐन पारित भएपछि भिसी र रजिष्टार नियुक्ति गर्नेबेलामा सरकारले परिकल्पनाकार ढकाललाई बाइपास गरेर डा. विद्यानाथ कोइराला, डा. लेखनाथ शर्मा र डा. केशरजंग बरालको नाम अघि सारेको बुझिएको छ ।
समाचारस्रोतका अनुसार माओवादीले उपकूलपति लिने र कांगे्रसलाई रजिष्टार दिने सर्तमा खुला विश्वविद्यालयमा नियुक्ति दिने तयारी शिक्षामन्त्री धनीराम पौडेलले गरेको बुझिएको छ ।
गैरआवसीय नेपाली संघको सहयोगमा क्यानडाबाट फर्केर ढकालले विश्वविद्यालयको अवधारणा नेपालमा भित्र्याएका हुन् । तर ढकाललाई बाइपास गरेर विश्वविद्यालयमा नियुक्ति गर्ने तयारी शिक्षामन्त्रीले गरेका छन् । डायस्पोरा भएकाले खुला विश्वविद्यालयका लागि आफू अयोग्य भएको ढकालले सुनाए । उनले भने, सरकारले नियुक्ति गर्न लागेको भिसी र रजिष्टारबाट खुला विश्वविद्यालयबारे अहिलेसम्म कुनै अवधारणा सार्वजनिक भएको छैन । मैले सन् २०१० देखि एनआरएनसँग मिलेर यसबारे अवधारणासहित लविङ गर्दै आएको थिएँ, तर अहिले डायस्पोरा भएकाले नियुक्ति दिन मिल्दैन भनिएको छ ।’
जन्मभूमिमा खुला विश्वविद्यालयको अवधारणा बोकेर क्यानडाबाट १० वर्षअघि फर्केर आएँ, तर यहाँ काम गर्ने वातावरण रहेनछ । ढकालले भने, ‘यतिबेला मनन गर्दैछु, यो देश कस्को रहेछ ? ।’
अवधारणा ल्याउँदै गर्दा धेरैले मलाई सर्टिफिकेट बाँड्ने संस्था खोल्न लागिस् भन्ने आरोप लगाए, तर मैले गुणस्तरमा सम्झौता हुँदैन, यो सर्टिफिकेट बाँड्ने संस्था होइन, दिन रात काम गरेर पनि शैक्षिक योग्यता हासिल गर्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न खोजेको हुँ’ ढकालले भने, ‘यस विषयमा नेपालका विधायकलाई आश्वस्त पार्न सफल भएँ ।’ त्यही आधारमा संसदले विधेयक पास ग¥यो, ढकालले नेपाल ब्रिटेन डट कमसँग भने, ‘तर सरकारले भिसी र रजिष्टार नियुक्ति गर्ने बेलामा म गैरआवासीय नेपाली भएँ, दुःख लाग्यो ।’