११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचनको तयारीमा लाग्न राप्रपाको निर्देशन

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार १४:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ ।
पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा अधिकांश नेताले आगामी निर्वाचनका लागि गृहकार्य गर्न सुझाव दिनुभयो । अर्का नेता राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘पार्टीको स्थानीय संरचना’का विषयको कार्यपत्रमाथि केही नेताले जनतामाझ पार्टीका कार्यक्रम सञ्चालन गर्नका लागि जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन सुझाव दिनुभयो ।
बैठकमा पार्टी अध्यक्ष थापाले मधेसकेन्द्रित दललाई विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै मधेसलाई बाहिर राखेर चुनावमा गएमा संविधान कार्यान्वयन जटिलता आउने विचार व्यक्त गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठक शुक्रबार बिहान ९ः३० बजे पुनःबस्ने छ ।