८ बैशाख २०८१, शनिबार
Follow Us

फेसबुकबाट एक महिला ४७ लाख रुपैयाँ ठगिन

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार १४:३३

चितवन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत ८ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताइन् । उनलाई ठगी गर्ने गिरोहका दुईजनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वांग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान् २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । अन्य तुलसीपुर, धरान, काठमाडौं बस्दै पैसा ठगी गर्ने गिरोहको खोजीकार्य भइरहेको उनले बताए ।
पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाएकी थिइन् । फेसबुक चलाउँदै आएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढंगले उनलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
न्यौपानेको श्रीमान व्यवसायी हुन् । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । पटक–पटक गरी भारत बस्दै आएका एक व्यक्तिले उनलाई ‘फेसबुकको चिट्ठामा १० लाख मिलियन डलर पर्‍यो’ भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाकाअनुसार न्यौपानेले विभिन्न ६ चरणमा गरी उनलाई पैसा पठाएकी थिइन् ।
आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौंमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताए ।
ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्डसमेत पठाएर रु ५० लाख दिइ सकेपछिमात्र कार्डले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताए । कार्डमा चिप्स नभएको थाहा भएपछि उनी ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ ओटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमैमात्रको लेनदेन टुंगिएको छ । अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी–भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताए । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उनले बताए ।