६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालले अब आर्थिक छलाङ मार्न सक्छ : डा. महतो

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार ०७:५३

हिजो बिहीबारदेखि सुरु भएको नेपालमा लगानी सम्मेलन आज सकिँदैछ । सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेटलीसहित २० भन्दा बढी मुलुकका संस्थागत र व्यक्तिगत लगानीकर्ता सहभागी छन् । सन् १९९२ पछि नेपालमा लगानी सम्मेलन भएको हो । यो सम्मेलनलाई लिएर सरकारी र निजी दुवै क्षेत्र उत्साही देखिएका छन् । उद्योग मन्त्रालय, लगानी बोर्डको आयोजनामा भइरहेको यो सम्मेलन नेपालको द्रुत आर्थिक विकासमा कोषे ढुंगा सावित हुने सम्भावना छ । तर नेपालले ठूला लगानीकर्तालाई लगानीको न्युतम सुनिश्चिता र व्यापारिक वातावरण कसरी बनाउँछ, त्यो थाहा पाउन केही समय कुर्ननैपर्छ । यिनै विषयमा एनआरएन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग गरिएको कुराकानी–

upendra-mahato० डा. उपेन्द्र महतो, एनआरएन संस्थापक अध्यक्ष

० लगानी सम्मेलनको सन्देश के हो ?
– कुनै पनि देशमा स्थानीय नागरिकले लगानी नगरेसम्म देश बन्दैन । त्यसकारण यो सम्मेलनको सन्देश भनेको नेपालका नागरिकले देशमा लगानी गर्नुपर्छ भन्ने उत्साह दिन्छ । हामी उत्साहित भयौं भने विदेशी मित्रहरु पनि नेपालमा लगानी गर्न उत्सुक हुन्छन् । लगानी सम्मेलनले एकअर्कामा चिनजानी गराउँछ, चिनजानी भएपछि विश्वास बढ्छ त्यसपछि लगानी आउँछ ।

० लगानी वातावरण उपयुक्त छ ?
– संसारमा काहिँ पनि लगानीको वातावरण उपयुक्त छैन । जहाँ लगानी गर्ने हो, त्यहाँ वातावरण बनाइन्छ । त्यसकारण वातावरण उपयुक्त होला र लगानी गरौंला भनियो भने त्यस्ता लगानीकर्ताले काहिँ लगानी गर्दैनन् ।

० वातावरण बनाउन सजिलो अप्ठ्यारो होला नि ?
– वातावरण भनेको नै मानिसले बनाउने हो । लगानीकर्ताले पनि लगानी गर्दै जाने हो भने लगानीको वातावरण सुदृढ हुँदै जान्छ, वातावरण राम्रो हुँदै जान्छ ।

० विदेशीलाई आकर्षित गर्ने लगानीका क्षेत्र कुन हो ?
– नेपालमा कुनै पनि क्षेत्र छैन, जहाँ विदेशीलाई हामी आकर्षित गर्न सक्दैनौं । नेपालको सबै क्षेत्र भर्जिन अवस्थामा छ, जहाँ जस्तोसुकैमा पनि लगानी ग-यो भने राम्रो हुनसक्छ । ठूलो लगानीकर्तादेखि लिएर सानाका लागि यहाँ ठाउँ छ । जस्तो ठूला लगानीकर्ता छन भने हाइड्रोमा आओस्, मध्यम खालका छन् भने पर्यटन, कृषिमा, त्योभन्दा सानो छ भने सेवा क्षेत्रमा आओस् । त्यसकारण नेपालमा सबै खालको लगानीको क्षेत्र खुला छ ।

० ठूला लगानीकर्ताले चासो देखाएका छैनन, राजनीतिक कारणले हो ?
– एउटा कारण त्यो पनि हो, र, अर्को कारण नेपालमा लगानी चाहिन्छ भन्ने कुरा हामी सैद्धान्तिक रुपमा गर्छौ, व्यवहारमा उनीहरुलाई देखाउन सकिरहेका छैनौं । अब नेपालमा राजनीतिक क्रान्तिको समय सकियो, आर्थिक क्रान्तिको समय आएकाले हाम्रा नेताज्यू, सरकार, ब्यूरोक्रेसी, नागरिक समाज र लगानीकर्ताले अब नेपालमा लगानी गर्ने बेला आएको छ । नेपालमा लगानी यदि अहिले भएन भने हामी पछि पछौं भन्ने अनुभव गरिसकेका छन् ।

० सम्भव छ ?
– धेरै सम्भव छ । अब नेपालले दु्रत गतिमा आर्थिक छलाङ मार्न सक्छ, अब हामीसँग अर्को विकल्प छैन । अहिलेका युवाहरु धेरै दिनसम्म पर्खेर बस्न सक्दैनन् ।

० त्यसका लागि के गर्नुपर्छ ?
– लगानीको जुन वातावरण भइरहेको छ, त्यसमा युवाहरुले राजनीतिक दबाब सिर्जना गर्नुपर्छ । र, आफूले पनि सानै भए पनि लगानीका लागि अगाडि बढ्नुपर्छ ।

० मुलुकमै स्वरोजगारको धारणाअनुसार अघि बढ्नुपर्छ ?
– हो, स्वरोजग हुनुपर्छ, स्वदेशी उत्पादनलाई बढी उपयोग गर्नुपर्छ । स्वदेशी कुरालाई बढी ध्यान दिनुपर्छ । युवाहरुले आफ्नै देशमा रोजगारी सिर्जना गर्छु भनेर अगाडि बढ्नुपर्छ ।

० नेपालका लागि ठूला कि स–साना लगानी राम्रो हो ?
– जुनसुकै देशमा ठूलो लगानी पनि चाहिन्छ, साना लगानी पनि चाहिन्छ । तर हामीले अरु देशको अवस्था हेरिसकेका छौं, देशमा सामाजिक स्थिरताका लागि र सबैको बीचमा राम्रो सम्बन्ध होस् भन्नका लागि साना र मझौलामा बढी जोड दिनुपर्छ । यसले गर्दा समाजमा स्थायित्व ल्याउँछ, समाजमा राम्रो वातावरण बन्छ ।

० ठूला लगानीलाई बाइ प्रोडक्टका रुपमा राख्नुपर्छ ?
– ठूला लगानीलाई पनि जोड दिनुपर्छ, तर ठूला लगानीलाई मात्र हेर्दा साना लगानीलाई ओझेलमा पार्नुभएन ।

प्रस्तुति : सञ्जीव मिश्र