७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोर्चालाई निर्वाचनमा सहभागी गराउनेबारे प्रधानमन्त्रीद्वारा कांग्रेससँग छलफल

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार १४:०४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे नेपाली कांग्रेससंग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विहान झण्डै साढे २ घण्टा छलफल भएको हो । स्थानीय निर्वाचन घोषणापछिको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको छ । दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका नेतासमेतको उपस्थितिमा उहाँले पछिल्लो राजनीतिक अवस्था र त्यसको निकासबारे परामर्श गर्नुभएको हो । छलफलमा कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोईराला, अमरेशकुमार सिंह, माओवादी केन्द्रका प्रभु साह, मातृका यादव लगायत नेताको उपस्थिति थियो । संविधान संशोधन विधेयक पारित नहुने संकेत पाएपछि मधेसी मोर्चाआवद्ध दलका नेताहरु रणनीति बनाउन व्यसत रहेको समयमा प्रधानमन्त्री दाहालले छलफल थाल्नु भएको हो । बैठकमा संविधान संशोधन विधेयक पारित गर्दै मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने विकल्पबारे कुराकानी भएको थियो ।

स्थानीय तह बढाइने
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले पाण्डेको नेतृत्वमा तीन मन्त्री रहेको कार्यदल गठन गरेको थियो । अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार कार्यदलले स्थानीय तहको संख्या ७ सय १९ बाट बढाएर ७ सय ३८ बनाउने प्रस्ताव तयार पारेको छ । आयोगले सुरुमा अधिकतम ७ सय ४४ राखेर जिल्लाहरुबाट प्रतिवेदन माग गरेको थियो । कार्यदलले त्यही मापदण्डका आधारमा अधिकतम संख्या प्रस्ताव गरेको हो ।
स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आठ समूह बनाएर काम भइरहेको बताए । कार्यदलले आजै प्रतिवेदन बुझाउने बताइएको छ । कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो । हप्तादिनको समय बितेपछि थपिएको तीन दिनको म्याद पनि शुक्रबार सकिँदैछ ।