१५ बैशाख २०८१, शनिबार
Follow Us

एमालेको मेची-महाकाली राष्ट्रिय अभियान सुरु

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७३, शनिबार ०९:२४

काठमाडौं । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान आज सुरु भएको छ । झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे ।
एमालेको राष्ट्रिय अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई परास्त गर्न आह्वान गरे । उनले सरकारमै रहेका दलहरु संविधान कार्यान्वयन गरी चुनाव हुन नदिने षड्यन्त्रमा लागिरहेको आरोप लगाए । जनताका अधिकार सुनिश्चित गर्न नदिनेहरुलाई जनताले नै ठीक पार्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने, लोकतन्त्रलाई संस्थागत हुन नदिने र हिंसा भड्काउन खोज्नेहरु सक्रिय हुन थालेकोतर्फ सचेत रहन आग्रह गरे । राष्ट्रको एकता र समृद्धि तथा राष्ट्रियता कमजोर बनाउने कुनै पनि प्रयास आफूहरुले नमान्ने उनको घोषणा थियो ।
एमाले महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भाव र एकता कायम राख्न आफूहरुले मेची–महाकाली अभियानको शुभारम्भ गरेको बताए । उनले एमालेले शुरु गरेको अभियान कसैका विरुद्ध नभएको भन्दै अभियान रोक्ने प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी दिए । एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानमा पार्टीका शीर्ष नेता सहभागी छन् । पूर्वबाट सुरु भएको अभियान १५ दिनसम्म चल्ने र पश्चिममा पुगेर समापन गरिने एमालेले जनाएको छ ।