८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा लगानी गर्ने वातावरण बनेको छ : उपाध्यक्ष पन्त

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार ०९:११

भियना । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानी गर्ने वातावरण बनेको बताएका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रियाको साधारणसभामा बोल्दै उपाध्यक्ष पन्तले उक्त कुरा बताउनुभएको हो । पन्तले नेपालमा लगानी गर्न सही समय भएको भन्दै विश्वभर छरिएर रहेका नेपालीले सिकेको ज्ञान, सीप र पूँजी स्वदेश फर्काउन आह्वान गरे । पोर्चुगलमा दूतावास स्थापनाका लागि एनआरएनएले पहल गरिरहेको जानकारी दिँदै उनले दूतावास नहुँदा युरोपका धेरै मुलुकमा नेपालीले दुःख पाइरहेको उल्लेख गरे। ‘दशौं वर्षको प्रयासपछि स्पनेबासी नेपालीको पहलमा आज दूतावास खुल्ने भएको छ। अष्ट्रियाको दूतावाबासबाट सबै सेवा सञ्चालन गर्नका लागि म पहल गर्नेछु’, उनले भने।
एनआरएन अभियानका पुराना दिन सम्झँदै उपाध्यक्ष पन्तले १४ वर्ष अगाडि संस्था स्थापना हुँदा करिब २० लाख नेपाली मात्र देशबाहिर रहेको जानकारी दिए। ‘अहिले नेपाल बाहिर अर्को नेपाल बनेको छ। ५० लाखभन्दा बढी नेपाली मुलक बाहिर छन्’, उनले भने ।
नेपाल सम्वृद्ध नहुँदा विदेशी भूमिमा नेपाली हेपिनु परेको अनुभव उनले सुनाए। ‘हामी अफ्रिकीहरुलाई गरिब भन्थ्यौं अहिले उल्टो उनीहरु नेपाललाइै ल्यान्ड अफ डान्सिङ गर्ल भन्न थालेका छन्’, मुलुक गरिब भएकै कारण यो अवस्था आएको उनको भनाइ थियो ।
युरोपमा सयौं नेपालीले होटल र रेष्टुराँ सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले अवसर पाए नेपालीले काम गर्न सक्छन् भनेर प्रमाणित भइसकेको उल्लेख गरे।
साधारण सभामा नेपालका लागि अस्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपाली नियोग एनआरएनएसँग मिलेर काम गर्न तयार रहेको बताए। आफ्नो जिम्मेवारी अहिले राष्ट्रसंघका लागि मात्र रहेका कारण अष्ट्रियाका नेपालीलाई प्रत्यक्ष सेवा पु-याउन प्राविधिक कठिनाइ भइरहेको जनाए ।
एनआरएन अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडाको अध्यक्षतामा भएको साधारणसभाले विधान संशोधन गर्दै महासचिव गोपालबाबु श्रेष्ठले पेश गरेको वार्षिक र कोषाध्यक्ष विनो खड्काले पेश गरेको प्रतिवेदन पारित गरेको छ।