१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दीमा पनि फस्टाउँदै छ हाउजिङ

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार ०९:२०

म्याग्दी । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् ।
सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँसराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सदस्य सुवीन श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार बेनी बजारमा मात्रै एक हजार ८०६ घर रहेका छन् भने तिनमा रु चार करोडसम्मका भवन तथा कम्प्लेक्स निर्माण भइसकेका छन् । हप्ताका औसत तीनवटा घरका नक्सा पास हुने गरेको बेनी नगरपालिकाले जनाएको छ । दसैँ तिहारजस्ता चाडवाडको समय तथा भदौदेखि मङ्सिरसम्ममा घरका नक्सा बढी पास हुने गरेको बेनी नगरपालिका हुनुपूर्व बेनीबजारलाई समेटेको अथुङ्गे गाविसको तथ्याङ्कमा उल्लेख छ ।
अहिले बेनी बजार र नजिकका बगरफाँट, बौर, अथुङ्गे, खबरा ,सिङ्गा लगायतका ठाउँमा घर निर्माण गर्ने क्रम बढेर गएको छ । जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रण नहुँदा यहाँका खेतीयोग्य जमिन मासिँदै जान थालेको छ । बेनी बजारमा भाडामा घरका पुरै लता लिने क्रम पनि बढ्दै गएको छ । ग्रहाकले पहिला घरका कोठामात्रै भाडामा लिने गरेकामा विगत दुई वर्षयता घरका तला नै लिने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
कामकाजी व्यक्तिले कोठाको सट्टा तला नै लिन थालेपछि व्यवसायीहरुले पनि पाँच–छ तलाको घर बनाउन थालेका छन् ।