१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले कार्यदलको प्रतिवेदन बुझ्ने

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार ०९:५३

काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डे संयोजक रहेको समितिले स्थानिय तह बढाउनेसहितको प्रतिवेदन आज बुझाउन लागेको हो ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए । पाण्डेले भने, ‘प्रतिवेदनको औपचारिक टुंगो लागेको छैन, तर पनि चाँडै बुझाउने तयारीमा छौँ ।’ प्रतिवेदनको मस्यौदा तयार भइसकेको उनको भनाइ छ ।
मन्त्रिपरिषदको बैठक बेलुका ५ बजे बोलाइएको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ ।
प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्ने तयारी कार्यदलले गरेको छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले बढाउन चाहेको संख्यासमेत जोडिए अब स्थानीय तहको नयाँ संख्या ७ सय ३८ पुग्नेछ ।
खोटाङ र नुवाकोटका स्थानीयको आन्दोलन कसरी सम्बोधन गर्ने भन्ने विवाद भने मन्त्रिपरिषदमा आजै पठाइने भएको छ । गाउँपालिकाका वडा र नाम परिवर्तनको आन्दोलनमा रहेका ती जिल्लाका स्थानीय दुई धारमा बाँडिएपछि कार्यदल समस्यामा परेको हो ।