१४ बैशाख २०८१, शुक्रबार
Follow Us

व्यापारी अपहरणमा संलग्न युवतीको हत्या

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार ०३:१८

काठमाडौं । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सुचीमा रहेकी युवती मृतअवस्थामा भेटिएकी छन् । उनको हत्या भएको प्रहरीको आशंका छ ।
भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ, धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हो । पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् ।
स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।

युवतीकै सहयोगमा भएको थियो अपहरण
सम्झनाले भेट्न बोलाएपछि मखनमा सारी पसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिइ हाटखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो ।

अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन् ।
त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो । त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घण्टा बन्धक बनाइ नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए । ७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए ।

चेक साट्न जाँदा गिरोहका दुईजना पक्राउ
पछि कोठाभित्र ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मुख्य नाइकेहरु भने फरार छन् ।
अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरीको आशंका छ ।
–नयाँ पत्रिकाबाट