१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको मेची महाकाली अभियान प्रदेश नं २ तर्फ, सुरक्षा व्यवस्था कडा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार ०८:५०

सुनसरी । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लाग्नुभएको हो । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । नेत्री भगवती चौधरीले संविधानमा समावेशिताका सम्पूर्ण विषय रहेकाले अहिले संशोधनभन्दा निर्वाचनतिर जानुपर्ने बताउनुभयो । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहितको केन्द्रीय टोली अभियानमा सामेल छ ।

सप्तरी तनाव
एमालेको मेची–महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले आज विहानैदेखि सप्तरीका विभिन्न ठाउँमा लाठीसहितको प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह, रुपनीलगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । जर्वजस्ती वाटो बन्द गर्न खोजेको भन्दै प्रहरीले मोर्चाका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी साधन तोडफोड गरेका छन् । प्रहरीले ‘स्कर्टिङ’ गरेर लैजान लागेका गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् । एमालेको मेची –महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् । एमालेले दिउँसो राजविराजको औद्योगिक क्षेत्र र साँझ कञ्चनपुरमा सभा गर्दै छ । तर, मधेसी मोर्चाका कार्यकर्ता कार्यक्रम गर्नै नदिने अडानका साथ लाठीसहित सडकमा उत्रिएका कारण एमाले र मोर्चाका कार्यकर्ता आमने–सामने हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।।

सप्तरी बम
यसैबीच, सप्तरीमा नेकपा एमालेले सभा गर्न लागेको ठाँउ नजिकै बम फेला परेको छ । राजविराज नगरपालिका चार, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको प्रहरीले जानकारी दिएको छ । अहिले बम फेला परेको ठाँउमा नेपाली सेनाको बम निस्क्रिय टोली पुगेको छ । टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको जिल्ला प्रहारी कार्यालय सप्तरीले जानकारी दिएको छ । बम कुन समूहले राखेको हो खुलेको छैन । एमालेले राजविराजको औद्योगिक क्षेत्रमा दिउसो सभा गर्न लागेकोले त्यसलाई प्रभावित बनाउन बम राखिएको हुनसक्ने प्रहरी अनुमान छ ।

अवरोधप्रति बारको ध्यानार्कण
नेपाल बार एसोसिएनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा सञ्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पु-याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका सचिव इन्द्रबहादुर अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानव अधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्मविपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ ।