१६ चैत्र २०८०, शुक्रबार
Follow Us

झडपमा एकको मृत्यु, १२ घाइते

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १२:५९

राजविराज । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आज यहाँ एक युवकको मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएका छन् । नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्न्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरिएको आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना हुन पुगेको हो ।
सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको मधेसी मार्चाका स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै गर्दा एक्कासी मार्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् । यसअघि आजै अध्यक्ष ओली कार्यक्रमस्थल पुग्नुअगावै पनि उक्त स्थानमा झडप हुँदा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका थिए ।
घाइते सबैको सगरमाथा अस्पताल सराजविराजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । एमालेको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।