१५ बैशाख २०८१, शनिबार
Follow Us

सप्तरी घटनामा मृत्यु हुनेको चार पुग्यो

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७३, बुधबार ०६:३२

राजविराज । सप्तरी घटनामा घाइते भएका थप एकको ज्यान गएको छ । सोमबार प्रहरीको गोली लागेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मलेठ– २ का वीरेन्द्र महतोको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेश भट्टराइले महतोको बिहान ९ बजे उपचारकोक्रममा मृत्यु भएको पुष्टी गरेका हुन् । योसँगै सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि सोमबार प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको थियो । अझै केही घाइतेको प्रतिष्ठानमा उपचार भइरहेको छ ।।

मधेस बन्द
मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज दोस्रो दिन पनि मध्य र पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दको प्रभाव पश्चिमका जिल्ला कपिलवस्तु, रुपन्देही र बर्दियामा पनि परेको छ । मोर्चाको बन्दका कारण यी जिल्लाको बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् भने यातायातका साधन संचालनमा आउन सकेका छैनन् । ती जिल्लामा बिहानैदेखि मोर्चाका कार्यकर्ता चोक–चोकमा बसेर लाठीसहित प्रदर्शन गरिरहेका छन् । यसैबीच, सुनसरी प्रहरीले मंगलबार राति पूर्वबाट पश्चिम जाने ४ सय १० वटा गाडी र पश्चिमबाट पूर्वका लागि छुटेका ४ सय ८७ वटा गाडीलाई स्कटिर्ङ गरी सुरक्षित स्थानमा पुरु¥याएको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको बिरोधमा बन्द आह्वान गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने, दोषीलाई कारबाहीलगायत ६ बुँदे माग गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।