१५ चैत्र २०८०, बिहीबार
Follow Us

संयमित बनाउन योगले सहयोग पुग्ने: नेता पौडेल

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७३, बुधबार ०६:४१

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मानिसलाई संयमित बनाउन योगले सहयोग पुग्ने बताउनुभएको छ । जगतगुरु श्रीरामानन्दचार्य सेवा पीठ चितवन शाखाले आजदेखि यहाँ आयोजना गरेको पाँचदिने पाशुपत सिद्धमहायोग ध्यान साधनाको आज उद्घाटन सभामा बोल्दै उहाँले संयमित सोचले समाजलाई भलो गर्ने र शान्ति कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
राजनीतिक क्षेत्रमा हतारमा दिइने प्रतिक्रियाले धेरै अफ्ठ्यारो सिर्जना हुने गरेको भन्दै नेता पौडेलले कम्तीमा दैनिक आधा घन्टा योग गर्न सकेमा शरीरलाई हलुका बनाउने र सोच विचार गरेर निर्णय लिने क्षमताको विकास गर्ने बताउनुभयो ।
अतिवादी प्रवृत्ति बढेका बेला संयम भएर सोच्न सकियो भने जनहितमा काम गर्न सकिने भन्दै उहाँले यसलाई योग प्रक्रियाले मद्दत गर्ने बताउनुभयो । भौतिक अनुशासन र आत्मिक अनुशासनमा योगले सहयोग पुग्ने उहाँको भनाइ छ ।
चिन्तनका वृद्धिलाई अनुशासन र नियन्त्रणमा राख्ने काम योगले गर्ने भन्दै उहाँले यसले मान्छे आनन्दित र सिर्जनशील बन्छ भन्नुभयो । आदिमकालदेखि नै योगको महत्व रहेको भन्दै नेता पौडेलले योगले नै मानिसलाई परिपूर्ण बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवन, स्वस्थ मन र तन योगले बनाउछ ।
कार्यक्रममा जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठका मठाधीश महायोगी शिद्धबाबा श्रीवैष्णव कृष्णदासले योग गर्ने विषय होइन स्वयम् प्रकट हुन्छ भन्न्नुभयो ।” उहाँले योगका सबै चरण मानव जीवनका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा भएको योगमा एक हजारभन्दा बढी सहभागी रहेका थिए । सो अवसरमा पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारी, जुनियर प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।