खोप्लाङ । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । वीरमान पनि डकर्मी हुनुहुन्छ ।

विगतदेखि नै मजदुरी गर्दै आउनुभएका तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि प्राप्त गर्नुभएको हो । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घरहरु बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि ठेक्का लिएरै घर बनाउने आँट तामाङमा आयो भने गाउँलेले पनि ढुक्क भएर घर बनाउन दिएपछि तामाङ परिवारमा आम्दानी पनि बढेको छ ।

‘निर्माण सामग्री (ढुङ्गा, गिटी, ालुवा, छड, सिमेन्ट, काठ) घरबेटीले जुटाउँछन्, जग खन्ने, गारो लगाउने, प्लास्टर गर्नेदेखि धुरी मार्नेसम्मको काम मेरो नेतृत्वमा गर्छु,’ घर पुनःनिर्माणमा सक्रिय तामाङले भन्नुभयो – ‘पुरुष कामदारले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् । समान ज्याला दिनुपर्छ भन्ने दबाब गाउँलेमा परेको छ ।’ तालिम लिनु पूर्व दिनको ५०० रुपैयाँ पारिश्रमिक पाउने तामाङले अहिले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँदै आउनुभएको छ ।

महिनामा कम्तीमा २५ दिन काममा निस्केको बताउँदै तामाङले घर, गृहस्थीको काम थाँती नराखेको बताउनुभयो । बिहान, बेलुकी घरको काम गर्दै आएको भन्दै उहाँले तालिम लिएपछि आफू सक्षम कामदार भएको बताउनुभयो । उहाँले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म लिएर घर निर्माण गर्दै आउनुभएको छ । तामाङले ठेक्का लिएको घर निर्माणमा पाँच÷सात जना पुरुष कामदार पनि पुनःनिर्माणमा सक्रिय छन् तर उनीहरुले तालिम लिएका छैनन् ।

टोलमै तामाङले मात्रै तालिम लिएको हो भन्दै खोप्लाङस्थित बेलवासका बिजबहादुर कुँवरले तालिम प्राप्त कामदारलाई घर बनाउने ठेक्का सुम्पन पाउँदा ढुक्क भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘तालिम नलिएका कामदारले पनि घर बनाउन जानेका छन् । तर मापदण्ड अनुसार बनाउँदैनन् । मापदण्ड अनुसार नबनेपछि इञ्जिनियरले घर पास गर्दैनन्, अनुदान पाइँदैन ।’ तामाङले कोलकाटेका इन्द्र भुजेलको घर निर्माण गरिसक्नुभएको छ । एकपछि अर्को घर निर्माण गरेपछि तामाङलाई काम दिनेहरु बढेका छन् ।
काम सानो, ठूलो नहुने भन्दै तामाङले ‘मजदुरी पेसा गरेको भन्दा खुसी लाग्ने तर गाउँलेहरु केहीले कुल्ली पेसा गरेको भनेको सुन्दा मन दुखेर आउने’ बताउनुभयो । काम गरेर गाउँमा राम्रो कामदार बन्ने उहाँको इच्छा छ । ठेक्का लिएर घर बनाउन सक्ने भएकामा उहाँका श्रीमान् वीरबहादुर पनि खुसी छन् । ‘मैले घर बनाउने काम गर्दै आएको १५ वर्ष भइसकेको छ,’ उहाँले भन्नुभयो – ‘श्रीमतीले पनि ठेक्कै लिएर घर बनाउन सुरु गरिन् । म खुसी छु ।’

तामाङले ईंटा, ढुङ्गा, ब्लकको गारो सुर मिलाएर लगाउन सक्नुहुन्छ । उहाँले भन्नुभयो, ‘काम समान भएपछि ज्याला पनि समान हुनुपर्छ । महिलालाई पुरुष सरह काम लगाउने, ज्याला आधा दिने गर्न पाइँदैन ।’ यस्तै गाँखु गाविस ७ महटारकी सङ्गीता मग्राती र कोपिला नेपाली पनि तालिम लिएपछि पुनःनिर्माणको काममा घर बनाउन सक्रिय भएर जुटिरहनु भएको छ । दैनिक एक हजारका दरले पारिश्रमिक लिँदै आउनुभएका सङ्गीताले भन्नुभयो – ‘घरको काम सकेपछि दिनभर गफगाफमै रमाइन्थ्यो । तालिम लिएपछि घर बनाउने काम गर्न भ्याइनभ्याइ छ ।’
– प्रशन्न पोखरेल